काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीहरुले नै प्रहरीलाई टेर्न छोडिसकेको बताएका छन् । आज (शनिबार) नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करहरुले कुनै लाज शरम नमानी हाकाहाकी नै प्रहरलिाई हप्काउने गरेको बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का नेताहरु सुन तस्करीमा जोडिएको तर्फलक्षित गर्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलगायतका माओवादी नेताहरु सुन तस्करीमा मुछिएका थिए ।
सोहीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले त कस्तो भइसक्यो भने, पहिले–पहिले मेरो आँखामा सोझो हेरेर भन् त तैले अपराध गरेको हो कि होईन भन्दा सोझो हेरेर भन्न सक्दैन थियो मान्छे, अप्ठ्यारो मान्थ्यो । अहिले त लाज शरम भन्ने कुरै छैन । सुन तस्करले भेट्यो भनेदेखि पुलिसलाई हप्काइदिन्छ । ओई किन हेरेको भनेर । झोलाभरी सुन हुन्छ, किन हेरेको भन्छ, उल्टै हप्काउँछ । हामीजस्ता भलाद्मी, सोझा, सिधा, इमानदारलाई किन यसरी हेरेको भनेर हप्काएपछि, को हो चिनेको छ ? भन्छ । यस्तो खालको जमाना । चोरले नै कोतवाललाई हप्काउँछ अहिले । यो यस्तो खालको जमाना ।’
प्रतिक्रिया