माओवादी भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग-उत्थानीकरणको दलदलमा फसेको बाबुरामको आरोप


काठमाडौं, २७ माघ । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेको आरोप लगाएका छन् ।

आज (आइतबार) पार्टी प्रथम महाधिवेशनमा भट्टराईले पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा उनले बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माओवादी केन्द्रको मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र यसमा कुनै तात्विक भिन्नता नरहेको बताएका हुन् । उनले

‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माकेबीचमा कुनै तात्विक अन्तर छैन,’– उनले प्रतिवेदनमा भनेका छन् ।

साथै, पटक–पटक सत्ताको नेतृत्व गरे पनि माओवादी–एमाले धारले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसकेको उनको दाबी छ । डा.भट्टराईले भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, एमाले–माओवादीका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसुस गर्न नसकिरहेको बताएका छन् । File Photo/RN