छवटै विधाका कलाश्री सम्मान तथा पुरस्कार वितरण

0
Shares

काठमाडौं, २८ माघ । राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राध्यापक डा.वीणा पौड्याललाई प्रदान गरिएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले आइतवार राजधानीमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विभिन्न विधा प्रदान गरेको थियो । लोक–संस्कृतिविद् तथा कवि तुलसी दिवसले ती सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

यस्तै राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई प्रदान गरेको जनाएको छ । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ छ । यसैगरी, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई दिइएको छ । यस्तै थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनील सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक तथा संकलक कमलीकान्त भेटवाललाई प्रदान गरिएको छ भने बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार उपन्यासकार वसन्त बस्नेत (पत्रकार पनि) लाई प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताए । उनले भने– ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रूपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ न कि व्यक्तिगतलाई ।’

यस्तै मौलिक भाषा वाङ्मय र राष्ट्रिय भावनाको प्रसार गर्नु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्व सचिव विमल कोइरालाको भनाइ थियो । ‘कला साहित्यको मूल ध्येय भनेको मौलिक भाषा वाङ्मय र राष्ट्रिय भावनाको प्रसार नै हो,’ उनले भने, ‘पुरस्कृत लेखकहरूलाई हामीले जुन ढंगले छान्ने गरेका छौं– त्यसले मौलिकता, निष्पक्षता र योगदानको वास्तविक कदर भएको छ ।’

संस्थाकी अध्यक्ष मोमिलाले वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान चाहेको बताइन् । ‘हाम्रो सम्मानको विरासत अनि वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्त्वपूर्ण योगदान गर्न सकोस् भनेर पारदर्शिता र निष्पक्षता राख्न सकेका छौं’ उनले भनिन् ।

समालोचक महेश पौडेलले कला साहित्य डटकम प्रतिष्ठानको अहिलेसम्मको इतिहासमा हामीले पुरस्कार र सम्मानलाई साँच्चिकै सम्मानित हुने अर्थमा लेखक, कलाकार पुरस्कृत गर्दै आएकाले यो क्रमले निरन्तरता पाउने बताए । उनले सबै पुरस्कृत स्रष्टाको विस्तृत परिचयसमेत दिएका थिए ।

कार्यक्रममा स्रष्टा शंकर कोइराला (पूर्व मन्त्री पनि), प्राध्यापक डा. गोविन्दराज भट्टराई, लेखकहरू भागीरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी थिए ।

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०–५० हजार रुपैयाँ तोकिएको छ । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको र प्रतिष्ठानको इतिहासमा धेरै रकमको पुरस्कार महिलालाई दिइएको पनि संस्थाकी अध्यक्ष मोमिलाले बताईन् ।