काठमाडौं, २ फागुन । नेपाली राजनीति वृत्तमा यतिबेला तत्कालीन माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) हिंसा थियो कि क्रान्ति भन्ने विषयमा निकै ठूलो बहस चलिरहेको छ । नेकपा (एमाले) को मुख्य नेतृत्वदेखि नेताहरुलेसमेत जनयुद्धलाई हिंसाको संज्ञा दिएर अपराध करार गर्न तस्सिरहेका छन् । माओवादीले भने जनयुद्ध एउटा युगान्तकारी परिवर्तनको संवाहक रहेको दाबी गर्दै महिमा मण्डन गरिरहेको छ । एमाले अध्यक्ष (हालका प्रधानमन्त्री) केपी शर्मा ओलीदेखि सांसद योगेश भट्टराईले पटक–पटक माओवादी सशस्त्र संघर्ष हिंसा नै रहेको अभिव्यक्ति दिँदै आएका छन् ।
त्यस्तै, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरीजाप्रसाद कोइरलाको पार्टी नेपाली कांग्रेसका छिटफुट नेताहरुले समेत माओवादी सशस्त्र संद्दर्षलाई हिंसाको संज्ञा दिने गरेका छन् । यद्यपि एमालेको तुलनामा कांग्रेसभित्र माओवादीको कम आलोचना हुनेगरेको छ । यो त फरक पार्टीको कुरा, अर्को पार्टीको कुनै न कुनै आलोचना गरिनु स्वभाविक पनि मानिन्छ । तर, पछिल्लो समय भने माओवादी सशस्त्र संघर्षका क्रममा प्रचण्डजत्तिकै जिम्मेवार भूमिका निर्वाह गरेका नेताहरुले समेत यसलाई हिंसाको संज्ञा दिन थालेका छन् ।
सशस्त्र संघर्ष (जनयुद्ध) का कमाण्डर एवं ठूला–ठूला यद्धको मोर्चा सम्हालेका रामबहादुर थापा ‘बादल’ हाल माओवादीमा छैनन् । उनी अहिले एमालेको उपाध्यक्षको भूमिकामा छन् । उनले सशस्त्र संघर्ष (जनयुद्ध) हिंसा नै रहेको दाबी गरिसकेका छन् । ‘जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो । त्यहाँ मर्ने र मार्ने हुन्छ । अहिले हाम्रो अध्यक्ष ९केपी ओली० को भनाइमा मेरो कुनै आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’– अछाम पुगेर बादलले भनेका थिए ।
नेता बादलले माओवादीले जनयुद्ध दिवस मनाउनको कुनै औचित्य नरहेको पनि बताएका थिए । जनयुद्ध दिवस दुनियाँमा कहीँकतै पनि नमनाइने बताउँदै उनले जनयुद्ध दिवस मनाउने माओवादीको डिसिजन गलत रहेको सुनाएका थिए । ‘माओवादीले जनयुद्ध दिवस मनाउने भनेर निर्णय गर्यो, उनीहरुको सरकार हुँदा । हुन त पछि अदालतले त्यसलाई खारेज गर्दिएछ । जनयुघद्ध दिवस मनाउने होईन, कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीहरुको एक ढंगको स्टन्टबाजी हो । गणतन्त्र दिवस मनाउने हो,’– उनले भनेका थिए ।
त्यस्तै, माओवादी सशस्त्र संघर्षका अर्का शुत्रधार मानिन्छन् डा. बाबुराम भट्टराई । उनी अहिले माओवादीमा छैनन् । उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष हुन् । २०७२ सालमा नेपालको संविधान बनेसँगै उनले औपचारिक रुपमा माओवादी छाडेको घोषणा गरेका थिए । जनयुद्धबारे भट्टराईको मत पनि बादलसँग मिल्दोजुल्दो छ । हिजो (बिहीबार) पार्टीको महाधिवेशनको नतीजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालीन सशस्त्र संघर्षको बारेमा विष बमन गर्न भ्याए । ‘आज फागुन १ गते । २०५२ साल फागुन १ गते नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउनको निम्ति जुन विद्रोह सुरु गरिएको थियो, जसलाई जनयुद्ध भनिएको थियो । त्यसैको जगमा संयुक्त जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलनसम्म जोडेर हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्यौं । २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि त्यसपछि अर्को नयाँ युग सुरु भयो भन्ने हाम्रो भनाइ हो,’– उनले भने ।
नेता भट्टराईले अब जनयुद्धको औचित्य सकिएको बताए । उनले कुनै एउटा पार्टीले जनयुद्ध दिवस मनाउन पनि आवश्यक नरहेको बताए । देशमा १९९७ सालदेखि हालसम्म भएका सबै प्रकारका आन्दोलनलाई समेट्नेगरी राज्यले नै क्रान्ति दिवस तोकेर मनाउन उपयुक्त हुने उनको सुझाव छ । ‘अब जनयुद्ध होईन, जनयुद्धले त आफ्नो काम पुरा गरिसक्यो । त्यसैले सबैलाई मान्य हुनेगरी जनक्रान्ति दिवस मनाउन उपयुक्त हुन्छ भन्ने हो । १९९७ साल, २००७ साल, झापा आन्दोलन, २०४६ साललगायतका मधेश आन्दोलन, थरुहट आन्दोलन तिनीहरुको क्रान्तिको बिम्ब भएको दिन हामीलाई चाहिन्छ । सबैलाई क्रान्ति दिवस नेपालमा तोक्न आवश्यक हुन्छ । यो कुनै पार्टी विशेषको नभएर राज्यले नै जनक्रान्ति दिवसको रुपमा यसलाई मानओस्,’– अध्यक्ष भट्टराईले भने ।
उनले जनयुद्धलाई हिंसात्मक क्रान्तिको संज्ञा दिए । अब हिंसात्मक क्रान्ति नभएर विशाल जनअभियान सञ्चालन गर्न आवश्यक रहेको र त्यसको नेतृत्व गर्न आफू अग्रसर रहेको पनि उनले सुनाए । ‘अब हिंसात्मक क्रान्ति होईन, हिंसात्मक विद्रोह होईन । अब विशाल जनअभियान सञ्चाल गरेर, अहिलेको विज्ञान प्रविधि, इन्टरनेटदेखि एआईसम्मको पहुँच छ, सोसल मिडियाको पहुँच छ । यसको बलमा जनताको घर–घरमा हाम्रा नाराहरु पुर्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एकीकृत ढंगले विशाल जनदवाब सिर्जना गरेर अगाडि जान सक्ने अवस्था विश्वमा पैदा भएको छ,’– उनले भने, ‘अबको फागनु १ गतेले जनयुद्ध र जनक्रान्ति होईन, अभियान, विशाल जनअभियान, शान्तिपूर्ण जनअभियान, शान्तिपूर्ण जनदवाब सिर्जना गरेर जनताको तत्कालीन मागहरु पूरा गर्दै सम्मुन्नत समाजवादतिर जाने बाटो तय गर्नुपर्छ ।’
यी त प्रतिनिधि घटनामात्रै हुन् । सशस्त्र संघर्ष हिंसा कि के थियो भन्नेबारेमा संसदमा समेत लामो-लामो बहस चल्ने गरेको छ । राज्यकै तथ्याङ्कलाई मान्ने हो भने तत्कालीन सशस्त्र संघर्ष (जनयुद्ध) को क्रममा नेपाल आमाका १७ हजार छोराछारीहरुले प्राण आहुती दिए । पवित्र भावनासहित सशस्त्र संघर्षमा समाहित भएका कयौं घाइतेहरुको आजको अवस्था दर्दनाक छ । बेपत्ता योद्दाहरुका परिवार, जहान छोराछोरी आफ्नो मान्छे पर्खिएर बसेका छन् । उनीहले सास वा लासको अनुनय गर्दासमेत राज्यले उत्तर दिन सकिरहेको छैन । यो नेपाली समाजको अहिलेको तीतो यथार्थता हो । यति भनिरहँदा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संविधान, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायतका यसका उपलब्धीहरुलाई कम आँक्न भने मिल्दैन ।
डा.भट्टराई शान्ति प्रक्रियामा आएपछि मन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न भ्याए । त्यस्तै बादलले पनि विभिन्न लाभको पद धारण गर्दै गृहमन्त्रीसम्म बने । भट्टराई र बादल दुवैले सत्ताको चास्नी चाटिसकेका छन् । सशस्त्र संघर्ष (जनयुद्ध) कै जगमा उनीहरुले सत्ताको चास्नी चाटेको कुरालाई चटक्कै विर्सिएर आफैं संलग्न रहेको इतिहासलाई अपराधीकरण गर्नु भूल हुन्छ की ?




प्रतिक्रिया