Logo

निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, चार अस्पताल बन्द



जनकपुर, ५ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित नौवटा अस्पतालमा पुगी उनले अनुगमन गरेका हुन् । मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकलएन्ड टेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन् ।

अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।

आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसीटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिए।

बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसीटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताए। रासस



प्रतिक्रिया दिनुहोस्