काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वमन्त्री मेटमणि चौधरीले एमालेको १०औं राष्ट्रिय महाधिवेशन दीपक मल्होत्रासँग २० करोड रुपैयाँ लिएर सम्पन्न भएको गम्भीर आरोप लगाएका छन् । हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो गम्भीर आरोप लगाएका हुन् ।
उनले भने,‘२० करोड अनि पाँच विघा जमिन दीपक मल्होत्राले केपी ओलीलाई दिने सहमति, अहिले सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको जग्गामा केपी ओलीलाई कारबाही किन नगर्ने भनेर जवाफ मागिरहेको छ ।’
पत्रकार धमलाले बारम्बार गिरिबन्धुको कुरा गरेको भन्दै के तपाईंसँग उक्त प्रकरणमा भ्रष्टाचार भएको आधार छ भनेर सोधेको प्रश्नमा उनले भने,‘अनि तपाईंले सुन्नुभएको छैन ? एमालेको राष्ट्रिय महाधिवेशन कसरी सम्पन्न भयो ? त्यही मल्होत्रासँग २० करोड पैसा ल्याएर भएको हो, ठाउँ ठाउँमा बोलिरहेका छन् त । यो खोज्ने त तपाईंको जिम्मेवारी हो । २० करोड अनि पाँच विघा जमिन दिने सहमति भएको हो । प्रधानमन्त्री ओलीले पटक पटक आफू प्रधानमन्त्री हुँदा यहाँका बहालवाला सचिवले काम नगरेपछि सुदूरपश्चिमका सचिव टेकनारायण पाण्डेलाई ल्याएर यो काम गर्न लगाईयो । आखिर यो काम बेठिक थियो भनेर सर्वोच्चले उल्टाउने काम त गर्यो । सर्वोच्चले नै उल्टाउने काम गरेपछि फेरि पनि यो काम गर्न अध्यादेशमार्फत गर्न खोजिँदैछ, नियतमा खराबी छ । नियतमा कालो छ भन्ने कुरा बुझ्न सकिँदैन ।’
गिरिबन्धु र भुटानी शरणार्थी प्रकरणमा केपी ओलीकै नाम मुछिएको भएपनि ओलीले जवाफ दिनुको साटो मान्छेलाई थुन्ने काम गरेको भन्दै चौधरीले आलोचना गरे । ओलीको गतिविधिको कारणपनि अहिले उठेका प्रकरणमा ओलीको संलग्नता रहेको कुरा प्रमाणित गर्ने उनको दाबी छ । कम्बोडियामा लगानी रहेको कुरा उठाएकै कारण दुर्गा प्रसाईंलाई थुनिएको तर उठेको विषयमा कुनै जवाफ नदिएको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना नै गरे ।
प्रतिक्रिया