काठमाडौं । मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालतमा मुद्दा हालेका छन् ।
सो मुद्दामा मंगलबार सुनुवाई गर्दै पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मुद्दाको टुंगो नलागेसम्म प्रचार रोक्न अन्तरिम आदेश दिएको हो । पाटनका न्यायाधीशद्धय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
‘निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचार प्रसार र सो सम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नूर नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ ।
फिल्ममा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको चरित्रको अवतार आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै पूर्वमन्त्री आलमले मुद्दा दायर गरेका थिए।
भद्रगोल हुँदै सक्किगोनी टेलिसिरियल निर्माण गरिरहेका हास्यकलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले निर्माण गरेको उक्त चलचित्र आगामी १४ गतेबाट प्रदशनमा आउने तयारीमा थियो । उक्त चलचित्रको टेलर आज सार्वजनिक हुने भनिएकोमा अदालतको आदेशले रोकिएको छ ।
आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि, जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाएर मुद्दा हालेका थिए ।
प्रतिक्रिया