काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कमजोरी छोप्नको लागि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालमाथि पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ छ भनेर स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।
उनले भने,‘प्रधानमन्त्रीले त काम गर्ने हो, कमरेड प्रचण्डले जस्तै काम गर्नुहोस, सुशासनको काम गर्नुहोस सबै तपाईंको पछि लाग्छन् । आर्थिक समृद्धिको काम गर्नुहोस, सबैले समर्थन गर्छन् । अरुलाई प्रश्न उठाएर चाहिने नचाहिने काम गरेर हुन्छ ? जनताले बुझिसकेका छन् ।’
आज (बुधबार) विहान प्राइम टिभीबाट प्रसारण भएको प्राइम सम्वाद कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले केपी ओली नै राजावादी भएको र जिन्दगीभर राजा बोकेर हिँडेको आरोप लगाएका हुन् । उनले भने,‘केपी ओली जिन्दगीभर राजावादी हुनुभयो, पछि बाध्यतावश गणतन्त्रवादी हुनुभयो । अहिले गणतन्त्रका लाभहरु लिइरहनुभएको छ । अनि हामीलाई दशौं हजार बलिदान गरेर राजतन्त्र फाल्नको लागि लडेको पार्टी र नेतालाई यो आरोप लगाउने भनेको त जनतामा विषयान्तर गर्नको लागि हो ।’
प्रतिक्रिया