‘जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ’

0
Shares

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
नेपालमा प्रजातन्त्रको मिर्मिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यु बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । जनता र रामा मिलेर प्रजातन्त्रलाई सवल बनाउन लागिपरेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका लागि जीवनदान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबै पात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।

‘प्रजातन्त्र’ आजको युगको उत्तम शासन पद्धती हुनुपर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि व्यवस्था तथा मान्यताअनुसार राज्य सञ्चालन गर्ने– सर्वमान्य आदर्शपनि हुनुपथ्र्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्रभित्रका हरेक वर्ग, समूह वा व्यक्तिको हकअधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बडाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । यसमा कहिँ कसैको शंका हुन सक्दैन् ।

प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वाद विवाद, द्वन्द्व वा विरोध–प्रतिरोधको अर्थले मात्र बुझ्नुहुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रुपमा पनि हेर्नुपर्दछ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होईन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ, सबैको अस्तित्व सुरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होईन, अन्तै पोखिरहेको छ । जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन्, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यसप्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन् ।

प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बडाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दैफुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जागृत गराउने हुनुपर्दछ, तर तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा हो ।

हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुदृ फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआवोस भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामील्े उदारता राख्दै आयौं । त्यतिमात्र होईन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका छौं । त्यागले कसैको कद सानो हुने होईन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसयपनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभों लाग्दैनौं भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमिकमजोरी तथा आफ्नो प्रकृति, संस्कृतिविरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।

देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

(२०८१ साल फागुन ७ गतेको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामनाको पूर्णपाठ)