‘लाज शरणम्’को प्रचार रोक्ने अदालतको आदेशप्रति चलचित्र निर्माता संघ- यसरी अंकुश लगाइनु दुर्भाग्यपूर्ण

0
Shares

काठमाडौं । चलचित्र निर्माता संघले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार संघका महासचिव सुनिल कुमार थापाले एक विज्ञप्ति जारी गर्दै राज्यको एउटा निकायबाट ईजाजत दिइसकेको अवस्थामा राज्यको अर्को संवैधानिक अङ्गबाट यसरी अंकुश लगाइनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालतमा मुद्दा हालेका थिए ।

माघ २४ गते अदालतमा दायर भएको आलमको मुद्दामा मंगलबार सुनुवाई गर्दै पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मुद्दाको टुंगो नलागेसम्म प्रचार रोक्न अन्तरिम आदेश दिएको हो । पाटनका न्यायाधीशद्धय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

‘‍निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचार प्रसार र सो सम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नूर नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ ।

फिल्ममा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको चरित्रको अवतार आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै पूर्वमन्त्री आलमले मुद्दा दायर गरेका थिए।

भद्रगोल हुँदै सक्किगोनी टेलिसिरियल निर्माण गरिरहेका हास्यकलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले निर्माण गरेको उक्त चलचित्र आगामी १४ गतेबाट प्रदशनमा आउने तयारीमा थियो । उक्त चलचित्रको टेलर आज सार्वजनिक हुने भनिएकोमा अदालतको आदेशले रोकिएको छ ।

आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि, जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाएर मुद्दा हालेका थिए ।

यस्तो छ निर्माता संघको आधिकारिक धारणा