लाज शरणम्’ को विषयमा निर्देशक समाज- चलचित्रको करोडौँ लगानी जोखिममा पर्‍यो, सिर्जनशील सर्जकलाई नराम्ररी झस्कायो


काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रचार सामाग्री समेतमा रोक लगाउने आदेशले चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पराजुलीले कुनै चलचित्रले अदालतले भनेझैँ व्यक्ति वा समुदायको मानमर्दन गर्ने अभिप्राय राखेको छ भने चलचित्र जाँच पास समितिसँग यस्ता चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार निहित भएको तर यो प्रक्रियामा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनसायअनुरुप आदेश जारी हुँदा चलचित्रको करोडौँ लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको बताएका छन् ।

मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालतमा मुद्दा हालेका थिए ।

माघ २४ गते अदालतमा दायर भएको आलमको मुद्दामा मंगलबार सुनुवाई गर्दै पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मुद्दाको टुंगो नलागेसम्म प्रचार रोक्न अन्तरिम आदेश दिएको हो । पाटनका न्यायाधीशद्धय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

‘‍निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचार प्रसार र सो सम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नूर नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ ।

फिल्ममा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको चरित्रको अवतार आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै पूर्वमन्त्री आलमले मुद्दा दायर गरेका थिए।

भद्रगोल हुँदै सक्किगोनी टेलिसिरियल निर्माण गरिरहेका हास्यकलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले निर्माण गरेको उक्त चलचित्र आगामी १४ गतेबाट प्रदशनमा आउने तयारीमा थियो । उक्त चलचित्रको टेलर आज सार्वजनिक हुने भनिएकोमा अदालतको आदेशले रोकिएको छ ।

आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि, जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाएर मुद्दा हालेका थिए ।

यस्तो छ चलचित्र निर्देशक समाजको आधिकारिक धारणा