पार्टीभित्रै निराशावादी कुरा गर्नेहरू थिए, तिनीहरूलाई चोटिलो जवाफ दिएर नेपालको इतिहासमा कीर्तिमान रच्न सफल भयौं: माधव नेपाल

0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी चल्दैन भनेर निराशावादी कुरा गर्नेहरु आफ्नै पार्टीमा भएको बताएका छन् ।

आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीमा नै रहेका निराशावादीलाई चोटिलो जवाफ दिँदै नेपाको इतिहासमा कीर्तिमान रच्न सफल भएको जिकिर गरेका हुन् ।

‘हामी हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर यो पार्टी चल्छ ? भन्ने निराशावादी कुरा गर्ने हरुलाई मुखभरिको जवाफ दिएर काम गतिविधि र व्यवहारबाट चलेर देखाउँछौं । र विगतमा पनि चलेर देखाएका थियौं । सक्दैनन् । क्रान्ति गर्न सक्दैनन् । आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै निराशावादी कुरा गर्नेहरु थिए । तिनीहरुलाई हामीले चोटिलो प्रहार गरेर, गलत सावित गरेर नेपालको इतिहासमा नै एउटा कीर्तिमान कायम गरेर नयाँ हामीले एउटा युगको सुरुआत गरेका थियौं’ उनले भने ।

 उनले सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो दल बनेर मुखभरीको जवाफ दिनुपर्ने बताएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टीको बारेमा कुप्रचार गरिएको भन्दै आपत्ति जनाए । एकीकृत समाजवादी एमालेमा मिल्दैछ, माओवादीतिर जाँदैछ भन्ने कुप्रचार गरिएको भन्दै अध्यक्ष नेपालले भ्रममा नपर्न आग्रह गरे ।

‘हाम्रो पार्टीको बारेमा अनेकथरीका कुराहरु प्रचारमा आउने गरेको छ । कसैले एमालेसँग मिल्नेभयो भनेका छन्, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर अनेक किसिमका कुप्रचारहरु भइरहेका छन् । यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी आफ्नो पार्टीलाई बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’– उनले भने ।