चलचित्र ‘लाज शरणम्’ को सेन्सर पास, पूर्वनिर्धारित मितिमै प्रदर्शनको बाटो खुल्यो

0
Shares

काठमाडौं । उच्च अदालत पाटनको आदेशबाट रोकिएको चलचित्र ‘लाज शरणम्’ को सेन्सर पास भएको छ ।

आइतबार चलचित्र विकास वोर्डले चलचित्रको सेन्सर पास गरेको हो । सेन्सर पास भएसँगै चलचित्रलाई पूर्वनिर्धारित मितिमै प्रदर्शनको बाटो खुलेको छ । यो चलचित्र आगामी १४ गते बुधबारबाट हलहरुमा प्रदर्शनमा आउँदैछ । चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि चलचित्रको प्रचार प्रसारको साथै सेन्सरको काम रोकिएको थियो ।

केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्नसक्ने भन्दै आदेशमा त्यसअघि निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न आदेश जारी गरेको थियो ।

माघ २४ गते अदालतमा दायर भएको आलमको मुद्दामा मंगलबार सुनुवाई गर्दै पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मुद्दाको टुंगो नलागेसम्म प्रचार रोक्न अन्तरिम आदेश दिएको हो । पाटनका न्यायाधीशद्धय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएपछि चलचित्रको भविष्यमाथि नै प्रश्न उठेको थियो ।

फिल्ममा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको चरित्रको अवतार आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै पूर्वमन्त्री आलमले मुद्दा दायर गरेका थिए।

भद्रगोल हुँदै सक्किगोनी टेलिसिरियल निर्माण गरिरहेका हास्यकलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले निर्माण गरेको उक्त चलचित्र आगामी १४ गतेबाट प्रदशनमा आउने तयारीमा थियो ।

सेन्सर पास भएसँगै आज साँझसम्म चलचित्रको टेलर सार्वजनिक गर्ने तयारी भएको बताईएको छ ।