मदरल्याण्ड स्कुलद्वारा आयोजित अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
Shares

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले करिब ३७८ जना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सुर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमिल्सिना भट्टाराईले अभिभावक अभिमुखीकरण उद्घाटन गरेकी थिईन् । प्रमुख अतिथि भट्टराईले मदरल्याण्ड स्कुलमा प्रि–स्कुलको लागि पूर्ण रुपमा “बुक फ्रि” गरेमा प्रसंशा गरिन् । सुर्यविनायक नगरपालिकाले पनि मानवीय विकासमा जोड दिएको र त्यसमा पनि शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै मदरल्याण्ड स्कुलका अभिभावकहरुलाई स्कुलले गरेको कार्यक्रमको लागि बधाई पनि दिए । साथै सबै अभिभावकले हरेक दिन बालबालिकाहरुको लागि कम्तिमा १ देखि २ घण्टा उनीहरुको कुरा सुन्ने र भावना बुझ्ने गर्नुपर्ने उनको सुझाव छ ।

उक्त अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता प्रसिद्ध उत्प्रेरक विकास देव योन्जनले अभिभावकहरुले गर्ने कुरा बच्चाहरुले सजिलै सिक्ने बताए । उनले आफ्नो बालबालिकाहरु भविष्यमा के बनुन् भन्ने छ त्यसको लागि अहिले बिऊ रोपेपछि मलजल, गोडमेल, हेरचाह तथा सुरक्षा प्रदान गरेमा अवश्य राम्रो फल प्राप्त हुने भन्दै अभिभावकहरुलाई आग्रह गरे । अभिभावकले असल अभिभावकत्व निभाउन सकेमात्रै बालबालिकाहरुको भविष्य उज्ज्वल हुने योन्जनको भनाइ थियो ।

मन्टेश्वरी एवं ईसिडी प्रशिक्षक तथा कल्पवृक्ष एडुकेशन फाउन्डेशनकी डाइरेक्टर प्रतिक्षा गौतमले मदरल्याण्ड स्कुलले शैक्षिक वर्ष २०८१ देखि प्रि स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक विना सिकाई क्रियाकलाप गर्दै आएको र यसमा आफूले कन्सलटेन्टको भूमिकामा आवद्ध हुन पाएकोमा स्कुल परिवार प्रति आभार व्यक्त गर्दै आगामि वर्ष २०८२ पनि मदरल्याण्ड स्कुलसँग सहकार्य गर्ने बताईन् ।

मदरल्याण्ड स्कूलका कार्यकारी सञ्चालक शर्मिला देउजाको सभापतित्वमा सेराटन वैंक्वेट, जगातिमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा स्कुलका प्रिन्सिपल संजय खड्काले अभिभावकले बच्चालाई पढपढ मात्र भनेर दवाव दिने, ३/४ वर्षका कलिला बालबालिका स्कुल जान थालेपछि नै लेख्न र पढ्न सक्नु पर्ने जस्ता सोच हटाउनु पर्ने, क्षमता भन्दा बढी भारी बोकाउनुभन्दा सीप र व्यवहार सिकाउँदै ईसिडीबाट कक्षा १ का लागि तयारी गराउनु पर्ने बताए । प्रिन्सिपल खड्काले ६ वर्ष मूनिका बालबालिकाहरुलाई विहान ६/७ बजे देखि नै स्कुल पठाउन नहुने, अभिभावकले विहान बेलुकीको खाना सकेसम्म परिवारसँगै खाने जसले गर्दा पारिवारिक स्नेह र महत्वले भविष्यमा आफ्ना छोराछोरीले आमाबुबालाई साथ नछोड्ने जस्ता पक्षहरुको चर्चा गरे ।