काठमाडौं, १२ फागुन । पशुपति क्षेत्र विकास कोष, महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१ ले विभिन्न १० वटा उपसमिति गठन गरी कार्य प्रारम्भ गरेको छ । आगामी फागुन १४ गते बुधबारको दिन परेको महाशिवरात्रि पर्वलाई भव्यतापूर्वक सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको छ ।
आज (सोमबार) पत्रकार सम्मेलन गरी शिवरात्रि पर्वको तयारीबारे जानकारी गराइएको हो । पशुपति विकास कोषका सदस्य–सचिव, डा.मिलन कुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उप–समिति, कोषाध्यक्ष, नारायण प्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उप–समिति, परिषद् सदस्य, हरिनाथ ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उप–समिति, परिषद् सदस्य शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था उपसमिति गठन भएको छ ।
त्यसैगरी, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उप–समिति, प्रचार प्रसार तथा साजसजावट व्यवस्था उपसमिति, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, मन्दिर दर्शन, चन्दन वितरण, एवं रात्रिकालीन व्यवस्था उप–समिति, वातावरण सरसफाइ तथा जुत्ताचप्पल व्यवस्थापन उप–समिति, महाशिवरात्रि पर्व–२०८१ सचिवालय गठन गरिएको छ ।
साथै, पशुपति विकास कोषले कानुनद्वारा निषेधित क्रियाकलाप नगर्न नगराउन समेत आग्रह गरेको छ । मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण, विक्रिवितरण र ओसार–पसार नगर्न नगराउन कोषले सबैलाई सचेत गराएको छ ।
प्रतिक्रिया