मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव आवश्यक पर्छः मन्त्री पाण्डे

0
Shares

काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक भावनाले मानिसलाई अनुशासित र समाजलाई समुन्नत बनाउँदै लैजाने बताएका छन् । आज (बिहीवार) पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरपरिसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को कार्यालय शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव आवश्यकता पर्ने बताएका हुन् । धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले विद्यमान व्यवस्थाका सकारात्मक पक्षलाई संरक्षण गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

‘धार्मिक र लोकतान्त्रिक भावले संघीय लोकतान्त्रिक गणतन्त्रका सकारात्मक उपलब्धि संरक्षण गर्न सबैलाई प्रेरित गर्छ । यसले मुलुकको लोकतान्त्रिक प्रणाली थप मजबुत हुँदै जान्छ’ कार्यक्रमका प्रमुख अतिथि मन्त्री पाण्डेले भने । पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाताहरू आउन थालेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले विधागत पत्रकारितामा कार्यरत पत्रकार संगठित हुने क्रममा धर्म, संस्कृतिका विषयमा कलम चलाउनेको पनि संस्था खुल्नु स्वागतयोग्य रहेको बताए । समाजलाई पत्रकार महासंघको एसोशियट संस्थाका रूपमा अघि बढाउन पनि उनले आग्रह गरे ।

काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष एवं संस्कृति, सम्पदा तथा पर्यटन विषयगत समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्रलाई सधैँ सिँगार्ने गरी व्यवस्था मिलाउन अनुरोध गरे । पशुपतिनाथमा सधैँ पर्यटक आउने वातावरण निर्माण गर्न यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवद्र्धन महाशाखाका प्रमुख डा.वंशदीप शर्मा खरेल, सनातन विद्वत् परिषद् नेपालका उपाध्यक्ष प्रा.डा.माधवप्रसाद पाण्डेय र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको प्रारम्भमा समाजका संस्थापक सदस्यद्वय अच्युत सुवेदी र जयराम सापकोटाले स्वस्तिवाचन गरेका थिए, भने महासचिव अच्युत अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले वि.सं. २०७६ देखि अनौपचारिक मञ्चका रूपमा काम गरिरहे पनि धर्म, संस्कृतिका विषयमा कलम चलाउने पत्रकारको अनुरोधअनुसार वैधानिक संस्थाको स्वरूप दिइएको बताए ।