काठमाडौं, १६ फागुन । रामेछापको गोकुलगङ्गा गाउपालिका–४ बेतालीमा जन्मिएका युवराज कार्की सांगीतिक क्षेत्रमा संघर्षरत छ्न् । सानै उमेरमा गीत गाएर, संगीत भरेर र मोडेलिङ गरेर उनले आफ्नो क्षमतालाई दर्शक/श्रोताहरू माझ प्रस्तुत गरिसकेका छन् ।
उनको पहिलो गीत ‘मायालु’ हो । यो गीतमार्फत युवराज औपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । यस अवधिमा युवराजका आधा दर्जन गीतहरु दर्शक/श्रोतामाझ आइसकेका छ्न् । दर्शक/श्रोताबाट पाएको हौसला, प्रतिक्रिया, सल्लाह, सुझाव र मायाबाट आफू उत्साहित रहेको गायक कार्की बताउँछन् । उनी आफूलाई बाल्यकालदेखि नै गीत गाउन र बाजाहरू बजाउन मन पर्ने बताउँछन् । स्थानीय मेला र उत्सवहरूमा गाउन पाउँदा आफूलाई धेरै खुसी लाग्ने गरेको उनले सुनाए ।
प्रारम्भमा विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमहरूमा प्रस्तुति दिएर गायकको परिचय बनाएको र पछि स्थानीय एफएम रेडियोका कार्यक्रमहरूमा गाउन थालेको उनले बताए । रेडियोले गायिकीलाई तिर्खान र श्रोताहरूमाझ चिनिन मद्दत गरेको उनले बताए ।
आफू काठमाडौं आएपछि संगीतमा झन भिज्न थालेको र सांगीतिक यात्राकै दौरानमा लाइफ ओके टेलिभिजनको प्रस्तुति रहेको सिङगिङ आइडलमा भाग लिएको उनले बताए । संयोगवस उनी यस आइडलमा विजेता बन्न सफल भए । यो क्षणलाई उनी आफ्नो सांगीतिक जीवनको विशेष मोड ठान्छन् ।
राजधानी छिरेपछि सांगीतिक यात्राले नयाँ मोड लिएको उनी सुनाउँछन् । संगीतका प्रबुद्ध गुरु चण्डीप्रसाद काफ्लेसँग सङ्गीतको कक्षा लिने मौका पाएको र गुरुको संगतले संगीतको मर्मलाई गहिरोगरी बुझ्ने अवसर मिलेको उनले बताए । उनले भर्खरै ‘तिमी हिडने कार’ बोलको गीत बजारमा ल्याएका छन । संघर्षकै मैदानमा रहेका युवराज एकदिन अवस्य सफल हुनेमा ढुक्क देखिन्छन् ।

प्रतिक्रिया