काठमाडौं, १६ फागुन । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र भ्रष्टाचारले सिमा नाघेको कारण अब सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने घोषणा गरेका छन् ।
उता, सरकारमै बसेर सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीपनि सरकारबाट बाहिरिने तयारीमा रहेको उच्च स्रोतको दाबी छ । यसअघि नै अध्यक्ष ठाकुरले सरकारमा सहभागी आफ्ना पार्टीका नेता शरदसिंह भण्डारीलाई सरकारबाट बाहिरिने तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
सत्ता पक्षकै कित्तामा रहेका उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरि आफ्नो पोजिसन सार्वजनिक गरेपछि लोसपाभित्र पनि नेतृत्वलाई सरकारबाट बाहिरिन दबाब परेको उच्च स्रोतको दाबी छ । यो ७ महिनामा सरकारले संविधान संशोधनलगायत कुनैपनि सार्वजनिक प्रतिबद्धताप्रति गम्भीर भएर काम नगरेको भन्दै ठाकुरपनि रुष्ट रहँदै आएका छन् ।
सरकारले यही फागनु २१ गतेको प्रतिनिधिसभामा अध्यादेश निर्णयार्थ पेश गर्ने तयारी गरेको छ । तर, भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने कुनै छाँटकाँट नदेखाएपछि यादव र ठाकुर सरकारको नेतृत्वसँग फायर छन् । सरकारको नेतृत्वमा रहेका एमाले र कांग्रेसका नेताहरुले भने कुनैपनि हालतमा अध्यादेश सदनबाट स्विकृत हुने दाबी गरेका छन् । योबीचमा सरकारले अध्यादेश पारितको लागि विपक्षी दलका नेताहरुसँग सहयोगको हात मागेको छ ।
तर, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कुनैपनि हालतमा अध्यादेशमा सरकारलाई साथ दिन नसकिने अडान सार्वजनिक गरिसकेका छन् । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल विभाजनको लागि आवश्यक गृहकार्य गरिसकेको र त्यसको नतिजा अध्यादेश पारित गर्ने बेलासम्ममा देखिने दाबी गरेका छन् । file photo
प्रतिक्रिया