ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी


तनहुँ, १८ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।

यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ । यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले भने, ‘महिनामा रु तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको छ ।’

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई ५०, विद्यार्थीलाई ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि १०० प्रवेश शुल्क कायम गरिएको छ । गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन् । रासस