- वसन्त थापा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता आरोप–प्रत्यारोपको केन्द्र बन्यो। प्रारम्भिक छलफल युक्रेनलाई दिइने अमेरिकी सैन्य सहायता र युद्धको भविष्यबारे थियो । तर, कुराकानी तीव्र बहसमा परिणत भयो।
राष्ट्रपति ट्रम्पले खुलेरै भने, ‘युक्रेनले अब वार्ता गर्नुपर्छ। अमेरिका यो युद्धलाई अनन्तसम्म निरन्तर सहयोग गर्न सक्दैन।’ उनले युक्रेनमाथि धेरै सहायता खर्च भइसकेको उल्लेख गर्दै अमेरिकी करदाताहरूको चासो प्राथमिक हुनुपर्ने बताए।
जेलेन्स्कीले यसको प्रतिवाद गर्दै भने, ‘रुससँग वार्ता गर्नु आत्मसमर्पण सरह हुनेछ। यदि हामी अहिले रोकिन्छौं भने पुटिन अझ बढी क्षेत्र ओगट्नेछन्।’ उनले पश्चिमी मुलुकहरूले दिएको सुरक्षा प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरे।
भेटघाटको क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि हस्तक्षेप गरे। उनले जेलेन्स्कीलाई लक्षित गर्दै भने–‘हामी तपाईंको स्थायी आर्थिक स्रोत होइनौं।’ भेन्सले युक्रेनी नेताहरूलाई भ्रष्टाचार हटाएर आत्मनिर्भर बन्न सुझाव दिए।
तर, भ्लोदिमिर जेलेन्स्कीको हालको अवस्था हेर्दा स्पष्ट हुन्छ— कुनै राष्ट्र जब आत्मनिर्भर हुन सक्दैन, जबसम्म आफ्नो अस्तित्व अरूको दया(मायामा टिकाउनु पर्छ, तबसम्म त्यो देशको नेता केवल एक कठपुतली बन्छ। युक्रेनका राष्ट्रपति जेलेंस्की आज विश्वराजनीतिको एक अपमानजनक पात्र बनिरहेका छन्, र यसको मुख्य कारण उनको देशको चरम परनिर्भरता हो।
२०२२ मा जब रुसले युक्रेनमाथि हमला गर्यो, जेलेन्स्कीलाई पश्चिमी मुलुकहरूले ‘लोकतन्त्रका नायक’ भनेर चित्रित गरे। उनले साहसी भाषण दिए, युक्रेनी सेनालाई लड्न प्रेरित गरे, र पश्चिमी सहयोग प्राप्त गर्न लगातार कूटनीतिक भेटघाट गरे। शुरुवाती दिनहरूमा अमेरिका, युरोपेली युनियन (ईयू), नेटो र अन्य पश्चिमा शक्तिहरूले अर्बौं डलर बराबरको आर्थिक, सैन्य र मानवीय सहायता उपलब्ध गराए।
तर, समय बित्दै जाँदा, यी देशहरूको प्राथमिकता परिवर्तन भयो। अमेरिकाभित्रै राजनीतिक अस्थिरता बढ्दै गयो । रिपब्लिकन नेताहरूले युक्रेनलाई दिइएको सहायता कटौती गर्न दवाब दिन थाले।
हिजोको व्हाइट हाउसमा भएको घटनाक्रम हेर्ने हो भने, जेलेन्स्कीको अवस्था झन् अपमानजनक देखियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई ‘अब वार्ता गर्न तयार हुनुहोस् । किनकि अमेरिका यो युद्ध अनन्तसम्म लड्न चाहँदैन।’ रिपब्लिकन सिनेटरहरूले उनलाई खुलेरै ‘सताउने पाहुना’ भनेका छन्।
परनिर्भर राष्ट्रको वास्तविकता यही हो– जबसम्म तिमी उपयोगी छौ । तबसम्म साथ दिइन्छ। तर, जब परिस्थिति बदलिन्छ, तिमीलाई बिर्सन थालिन्छ। युक्रेन अहिले ठ्याक्कै यही चरणमा छ। पश्चिमी सहायता बिना उसले युद्ध लड्न सक्दैन, तर त्यो सहायता पनि अब अविश्वसनीय बन्दै गएको छ।
युक्रेनको अर्थतन्त्र टाट पल्टिने अवस्थामा छ। पश्चिमा सहयोग बिना उसले आफ्नो बजेट चलाउन सक्दैन। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको ऋणमा देश टिकिरहेको छ । अमेरिकी सहायता ढिलो हुन थालेपछि युक्रेनी सैनिकहरूले आवश्यक हतियार प्राप्त गर्न सकेका छैनन्।
युक्रेनको रक्षा नीति पूर्ण रूपमा नेटोको सहयोगमा निर्भर छ।अमेरिका र युरोपले पठाएको हतियारबिना युद्ध लड्न सक्ने स्थिति छैन। तर नेटो देशहरू आफैं अन्य क्षेत्रहरूमा युद्ध तयारीमा छन्, जसले गर्दा युक्रेन प्राथमिकतामा छैन।
कूटनीतिक अपमान
शुरुवाती समयमा अमेरिकाले जेलेन्स्कीलाई गर्वका साथ स्वागत गर्यो । तर, अहिले उनी ‘माग्ने नेता’ झैं देखिएका छन्। ह्वाइट हाउसमा भएका पछिल्ला छलफलहरूमा जेलेंस्कीको अपमान खुलेआम देखियो।पश्चिमी मिडियाले उनलाई अब ‘थकाउने अतिथि’ भन्न थालेका छन्।
जेलेन्स्कीको अपमानः परनिर्भरताको अन्तिम अवस्था
जेलेन्स्की एक समय ‘लोकतन्त्रको नायक’ भनिन्थे । तर, अहिले उनले नेटो र अमेरिकाबाट सहयोग मागिरहँदा उनलाई हेर्ने दृष्टिकोण बदलिएको छ। रिपब्लिकन नेताहरूले उनलाई बारम्बार सहयोग नदिने संकेत दिएका छन्। राष्ट्रपति ट्रम्पले उनलाई ‘युद्ध रोक्न’ निर्देशन दिएका छन् । जुन रणनीतिक रूपमा उनको पराजयस्वरूप लिइन्छ। बैठकपछि वाशिङ्टन पोस्टले लेखेको छ, ‘जेलेन्स्कीको संघर्ष अब अमेरिकी हितभन्दा बाहिरको विषय बन्दै गएको छ।’
परनिर्भर राष्ट्रहरूको लागि पाठ
युक्रेनको वर्तमान अवस्था केवल उसको लागि मात्र होइन, विश्वका अन्य साना राष्ट्रहरूका लागि पनि ठूलो पाठ हो। यदि कुनै देश आफ्नै सुरक्षामा आत्मनिर्भर छैन भने उसले अरू राष्ट्रहरूको स्वार्थअनुसार आफ्नो अस्तित्व जोगाउनु पर्छ । जबसम्म कुनै मुलुक आर्थिक रूपमा अरूको भर पर्छ, त्यसले आफ्नो नीतिहरू निर्धारण गर्ने स्वतन्त्रता गुमाउँछ । जबसम्म सैन्य शक्ति आफ्नै हुँदैन, तबसम्म विदेशी हतियार र सहयोगबिना युद्ध लड्न सकिन्न। भ्लोदिमिर जेलेन्स्कीको वर्तमान अवस्था देख्दा स्पष्ट हुन्छ— अरूको दासी बनेर बाँच्नुभन्दा आत्मनिर्भर भएर संघर्ष गर्नु उचित हुन्छ। जब कुनै देशले आफ्नै अस्तित्व बचाउन अरूको कृपामा भर पर्नुपर्छ, त्यसको अन्तिम अवस्था अपमान र असहायताको रूपमा देखिन्छ। युक्रेनले आत्मनिर्भर बन्ने बाटो नअपनाएसम्म, जेलेन्स्कीले अझै धेरै अपमान सहनुपर्नेछ।
प्रतिक्रिया