काठमाडौं, २० फागुन । नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले छिटोभन्दा छिटो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनसक्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालका प्रधानमन्त्री भारत जाने वा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने कार्य छिटोभन्दा भन्दा छिटो हुने बताएका हुन् ।
नेपाल र भारत मैत्रीपूर्ण र एकआपसमा परनिर्भर मुलुक रहेको बताउँदै सम्बन्ध अत्यन्त राम्रो रहेको दाबी गरे । यसलाई निरन्तर रुपमा राम्रो बनाउनका लागि उच्चस्तरीय भ्रमण गर्ने र उच्चस्तरीय संवादहरु अगाडि लिएर जाने कुरा अत्यन्त महत्वपूर्ण हुने पनि बताए । अहिलेसम्म भारतले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निमन्त्रणा नदिएको अवस्थामा अब भारतीय प्रधानमन्त्रीकै नेपाल भ्रमण पनि हुनसक्ने दाबी गरे । उनले भने, ‘छिटोभन्दा छिटो नेपालका प्रधानमन्त्री भारत भ्रमण या भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि हुनसक्छ । यी दुईवटा मध्ये एउटा काम हुन्छ भन्ने मलाई लाग्छ ।’
प्र्रधानमन्त्री स्वयंले बोलेको आधारमा आफूले यसअघि भारत भ्रमणबारे जानकारी गराएको पनि उनले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भनेर प्रधानमन्त्री स्वयंले भन्नु भएको हुनाले हामीले पनि हुने भएछ भन्ने हिसाबले मैले भनेको थिएँ । यो दुईपक्षीय हिसाबले टुङ्ग्याउनुपर्ने विषय हो । त्यो टुङ्गिराखेको छैन । नटुङ्गिएको हुनाले, म अहिले सरकारको कुनै निकायमा पनि नभएको हुनाले मैले यहिले नै हुन्छ भन्न सक्दिनँ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया