काठमाडौंको मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा यही फागुन २१ गतेदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । विक्रम सम्वत् २०२२ मा वैकुण्ठवासी श्री १००८ श्रीनिवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको मन्दिर २०७२ को भूकम्पले क्षति भएपछि संघ, प्रदेश, स्थानीय तह र भक्तजनको सहयोगमा करिब १६ करोडको लागतमा मन्दिर पुनर्निमाण सम्पन्न भएको हो । श्रीवैष्णव सम्प्रदायका भक्तजनको भीड लाग्ने यसै मन्दिरमा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा र महासम्प्रोक्षण हुने मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताइयो ।
पाँचदिनसम्म हुने सो कार्यक्रमअन्तर्गत फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पण, पूर्णाहूति, दिव्यप्रबन्ध सेवकालम र तीर्थगोष्ठी हुने छ । २२ गते यागशालाामा द्वारतोरण ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहूति, वास्तुपूजा, पञ्चगव्य–प्राशन, नवकलशस्नपन, जलाधिवाास, मूलमूर्तिहवन, पूर्णाहूति र तीर्थप्रसाद वितरण हुने छ ।
यस्तै फागुन २३ गते यागशालामा द्वारतोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थगोष्ठी, मूलमूर्ति हवन, पूर्णाहूति, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र हवनादिलगायत कार्यक्रम हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभएको छ ।
यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुदेव हवन, पूर्णाहूति तथा स्नपन, शय्याधिवास र फल–पुष्पाधिवास हुने छ । फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, कलशस्नपन, तत्त्वन्यास हवनादि, यन्त्रस्थापन, विम्बप्रतिष्ठा, अष्टबन्धन, नित्यहोमादि, यन्त्रस्थापना, विम्बप्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुने छ भने अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना, हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासम्प्रोक्षण, प्रथम आराधना, मठाधीश पट्टाभिषेक, आचार्य संभावना र तदीयाराधना कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिनुभयो । भारतको तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा अनुष्ठान सम्पन्न हुने छ ।
कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेष कर्ता बन्न मिल्ने सेवाक्रम तय गरिएको छ । एक हजार एक सय रुपैयाँमा साधारण अर्चनादेखि सात लाख रुपैयाँ अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभयो । समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको छ ।
यस मन्दिरमा वि.सं. २०२२ देखि वैष्णव–दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचार–प्रसार हुँदै आएको छ । वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गर्नुभएको चार रोपनी चार आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी तीन सन्निधि रहेका छन् । मन्दिरमा एक हजारजना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड रहेको छ भने आगामी शैक्षिक सत्रबाट गुरुकुल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराउनुभयो ।
दिव्यदेश शैलीमा निर्माण गरिएको मन्दिरमा तोताद्रिमठका ३१ औं पीठाधिपति जगद्गुरु श्री १००८ मधुर–कवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा यही फागुन २१ देखि २६ गतेसम्म प्राण–प्रतिष्ठा एवं महा सम्प्रोक्षण कार्यक्रम हुन लागेको हो ।
प्रतिक्रिया