काठमाडौं, २१ फागुन । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनलाई लिएर सत्तारुढ दलका शीर्ष नेताहरुले चासो देखाएका छन् । नेपाल बारको नयाँ पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत २५ सदस्यी कार्यसमिति चयन हुनेछ ।
नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएन (डीएलए) र नेकपा (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बीच गठबन्धनको लागि सत्तारुढ दलका शीर्ष नेताहरु लागिपरेका हुन् । स्रोतका अनुसार हिजो (मंगलबार) अबेरसम्म बालुवाटारमा नेपाल बारको निर्वाचनबारे छलफल भएको थियो ।
नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्, सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी चयनका लागि हालसालै सम्पन्न भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट कानुन व्यवसायीहरुको संगठन गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन), एमालेनिकट कानुन व्यसायीहरुको संगठन पीपीएल र अन्य संगठनबीच तालमेल भएको थियो । नेपाल बारको निर्वाचनमा सोही गठनबन्धन व्युँतिने गाइँगुइँकाबीच दलनिकट कानुन व्यवसायीको संगठनलाई मिलाउन सत्तारुढ दलका शीर्ष नेताहरु नै सक्रिय भएका हुन् ।
यता माओवादी केन्द्रनिकट कानुन व्यवसायीहरुको संगठन आरपीएलएएनले वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठलाई नेपाल बारको अध्यक्षको उम्मेदवारको रुपमा अगाडि सारिसकेको छ । अन्य संगठनहरुले भने अझै उम्मेदवार टुङ्ग्याएका छैनन् । आरपीएलएनले भने वामपन्थीहरुसँग तालमेलका लागि ढोका खुल्ला राखिएको बताउँदै आएको छ । तर, कांग्रेसनिकट डीएलएसँग भने आरपीएलएएनले चुनावी तालमेल नगर्ने बताइसकेको छ ।
पीपीएलएसँग तालमेलका लागि डीएलएले अध्यक्षलगायतको पदमा दाबी गरिरहेको बताइएको छ । यता आरपीएलएएनले पनि अध्यक्ष नछोड्ने अडान कायमै राखेको छ । आरपीएलएन र डीएलएको चेपुवामा पीपीएलए परेको छ ।




प्रतिक्रिया