काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले डेमोक्रेशी मास्न हतियार उठाउने र हिंसा मच्चाउनेहरुले नै आफूहरुमाथि संविधान मास्न खोजेको आरोप लगाएको टिप्पणी गरेका छन् । आज (बुधबार) मानव अधिकार तथा सामाजिक न्याय मञ्चको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) ले नै संविधान बनाएको, कार्यान्वयनको लागि अगाडि बढाएको बताए । संविधान कार्यान्वयनको क्रममा संशोधन आवश्यक पर्ने बताउँदै उनले त्यसलाई मास्न खोजेको आरोप लगाउन खोजेको भन्दै आपत्ति जनाए ।
‘नेकपा (एमाले), नेपाली कांग्रेस । संघर्ष गर्नेपनि यिनीहरु, संविधान बनाउने पनि यिनीहरु, परिवर्तन ल्याउने पनि यिनीहरु । संविधान त्यसकारण आवश्यकताअनुसार कतै–कतै परिमार्जन गर्नुपर्छ । अर्थात् संशोधन गर्नुपर्छ भन्ने अठोट पनि यिनीहरुले नै अगाडि ल्याएका छन् ।’ प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) लक्षित गर्दै भने, ‘संविधान मास्न खोज्ने आरोप, कहिले–कहिले कस्ता मान्छेबाट सुन्नुपर्छ भने डेमोक्रेशी नै मास्न हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरुबाट हामीले नै संविधान मास्छौं भन्नेजस्ता कुराहरु गर्ने प्रयास पनि हामीले देखेका छौं ।’
साथै, माओवादीले हिंसा, शान्ति, संविधान, मारकाट सबै आफ्नै हो भनेको उनको टिप्पणी छ । हिन्दीको एउटा भनाइ सुनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘मास्तिर फर्किएर बस्यो कौडा भने त्यो पनि मेरो, घोप्टिएर बस्यो भने त्यो पनि मेरै हो । अनी कोल्टे परेछ भने भन्दा– त्यसो भए मेरो बाउको हो । अरु कसैले लिन पाउँदैन । हिंसा पनि आफ्नै, शान्ति पनि आफ्नै, मानव अधिकार पनि आफ्नै, मारकाट पनि आफ्नै । त्यो मारकाट त राम्रै थियो त भन्दा– मैले गरेको । त्यसले त दुःख दियो नि ? भन्दा– त्यही भएर छोडेको । सजिलो छ ।’ File Photo/RN
प्रतिक्रिया