
काठमाडौं, १ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा सडकमा जनता ओर्लिएपछि गणतन्त्र व्यवस्था पक्षधर शक्तिहरुको सक्रियता बढेको छ । गणतन्त्रको पिता भनेर दाबी गर्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आँफै राजावादीहरुको प्रदर्शनलाई लिएर अत्तालिएका छन् ।
सत्तामा बस्ने दल कांग्रेस र एमाले नेतृत्व राजावादीको प्रदर्शनलाई लिएर मौन बसेको बेलामा सरकारकै विरोधमा सडकदेखि सदनसम्म संघर्ष चलाईराखेका प्रचण्ड भने एकाएक राजावादीहरुलाई काउन्टर दिन पार्टीको ोषित जारी कार्यक्रम रोकेर मधेशबाट काठमाडौं हानिए । उनी व्यवस्थामाथि संकट आईलाग्यो भन्दै काठमाडौं आकस्मिक आउनुलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन् ।
कतिसम्म भने ‘जनतासँग माओवादी’ कार्यक्रम हुलाकी राजमार्गकेन्द्रित अभियान कोशीको झापाबाट मधेशको रौतहटसम्म पुग्दै गर्दा अभियानमा जोडिएका शीर्ष नेताहरुलाई समेत थाहै नदिई प्रचण्ड एकाएक काठमाडौं हानिए । उनी रौतहटको कार्यक्रम अचानक स्थगन् गरेर बाराको सिमरा विमानस्थलबाट काठमाडौं आए । जबकी अभियानमा जोडिएका प्रभावशाली नेताहरु अघिल्लो दिनको कार्यक्रमको लागि बारा पुगिसकेका थिए ।
अभियानमा जोडिएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भोजनको पनि व्यवस्था गरिएको थियो । बारामा माछा, मासुलगायतको परिकार तयार पारिएको थियो । एक्कासी अभियान स्थगन्को सूचना प्रवाह हुँदा माओवादी नेताहरुको लागि भान्साको जोहो गर्ने पँक्ति नै रिसले फायर भएको चर्चा छ ।
प्रचण्ड काठमाडौं आउनेबित्तिकै माओवादी पदाधिकारीको बैठक डाके । बैठकबाट पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निस्किएको जुलुश तथा प्रदर्शन अस्वभाविक भएको निश्कर्ष निकालियो । तत्काल समाजवादी मोर्चाको बैठक बस्ने र राजावादीहरुको प्रदर्शनलाई काउन्टर दिने तयारी गरियो । नभन्दै समाजवादी मोर्चाले यही चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तय भएको छ ।
यसरी प्रचण्ड सक्रिय हुँदा उता सत्तामा बसेका कांग्रेस र एमालेले भने त्यस्तै कुनै काउन्टर तयारी गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै राजावादीहरुको प्रदर्शनलाई लिएर प्रतिक्रियाविहीन छन् । देउवाले त सार्वजनिक रुपमै ज्ञानेन्द्रको पक्षमा उल्लेखनीय प्रदर्शन नभएको भन्दै चिन्ता लिनुपर्ने ठाउँ नभएको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले पनि इतिहासको रछ्यानमा पुगेका पात्रले टाउको यसो उठाएपनि उनीहरु अब फेरि फर्कने सम्भावना नभएको भन्दै खासै भाउ दिएका छैनन् । सं
योग कस्तो छ भने प्रमुख दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वले मधेशको महोत्तरीबाट पूर्वराजाको विरोधमा एकस्वरमा जवाफ फर्काएका थिए । तर, उनीहरुको कार्यक्रम भने बेग्लाबेग्लै दिनमा आयोजना भएको थियो । प्रचण्डले विपक्षी दलको नेताको नाताले संसद्मा पनि विशेष सम्बोधन गरिसकेका छन् । उनले अहिले जनता पूर्वराजाको पक्षमा आउनुको कारण पनि वर्तमान सरकारलाई दोष दिएका छन् । दाहालले अहिलेको सरकारविरुद्ध निरन्तर दबाब बढाएका छन् ।
गत फागुन ४ गते नै प्रचण्डले देउवासँग नयाँ ढंगले जानुपर्ने प्रस्ताव राखिसकेको विश्वस्त सूत्रको दाबी छ । अहिले राजावादीहरुको आन्दोलनलाई देखाएर एकथरी शक्तिले गणतन्त्रवादीहरु नमिले अहिलेको व्यवस्था नै कोल्याप्स हुने खतरा औंल्याईरहेको छ । अहिले राष्ट्रिय सहमतिको सरकारको बहसपनि छेडिएको छ । तर, विपक्षी दलहरुले राष्ट्रिय सहमतिको लागि अहिलेका प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्नुपर्ने बटमलाईन राखेका छन् ।
बरु, प्रचण्डले माधव नेपालको नाममा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने प्रस्ताव फालेको पनि चर्चा छ । नेपालको दल एकीकृत समाजवादीले अहिले सडक संघर्षमा जानेगरि एग्रेसिभ निर्णय लिइरहेको छ । देउवासँग माधव नेपालको निरन्तर सम्वाद जारी छ । उता, प्रचण्डपनि देउवासँग सम्पर्कमै रहेको विश्वस्त स्रोतको दाबी छ । संसद्को चौथो ठूलो दल रास्वपाका सभपाति रवि लामिछाने पनि नयाँ परिस्थितिको सामना गर्न नयाँ सहमतिको वातावरण बनाउनुपर्ने शीर्ष नेताहरुको प्रस्तावमा थोरबहुत सहमत छन् ।
तर, उनले आफू निर्णायक नभएको भन्दै देउवा र दाहालबीच हुने सहमति हेरेर निर्णयमा पुग्नसकिने पक्षमा रहेको सन्देश प्रवाह गरेका छन् । माधव नेपालले राजनीतिक सक्रियता बढाएको बारेमा बालुवाटारपनि जानकार छ । माधव नेपालले अहिले नियमित राष्ट्रिय सहमतिको सरकारको लागि आफूनिकटका नेताहरुसँग माहोल बनाउनको लागि सल्लाह गरिरहेको स्रोतको दाबी छ ।
अध्यादेश पारित गर्ने सवालमा राजनीतिक दलसम्बन्धी विद्येयकको विषयमा पनि बालुवाटारले आवश्यक तयारी गरेको चर्चा थियो । तर, अहिले बालुवाटार माधव नेतृत्वको दल विभाजनको पक्षमा पनि नलागेको विश्वस्त स्रोतको दाबी छ । बरु, प्रधानमन्त्री ओली नै माधव नेपालसँग पनि सहमति गरेर अघि बढ्ने विषयमा लचक बनेको चर्चा छ । file photo