
काठमाडौं, १ चैत । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । मन्त्रीसमेत रहेका पाण्डेमाथि गैरजिम्मेवार अभिव्यक्तिबारे अनुशासनात्मक कारबाहीको माग राख्दै गोरखा क्षेत्र नं. १ बाट निर्वाचित राजेन्द्र बजगाईले उजुरी दिएका हुन् ।
पाण्डेले पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्ति दिएको बजगाइँको आरोप छ । बजगाइँले पाण्डेले हालसालै सार्वजनिक रूपले व्यक्त गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेका हुन् ।
मन्त्री पाण्डेले संविधान र पार्टी सिद्धान्त, पार्टी विधान उल्लङ्घन गरेको र राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाइँको अराोप छ । मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्रांगणमा आयोजित एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको बजगाइँको आरोप छ ।
कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको र जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत रहेको बजगाइँको भनाइ छ ।
सह–महामन्त्री एवं मन्त्री पाण्डेविरुद्ध अनुशासनात्मक छानबिन गरी यथाशीघ्र कारबाहीको माग गरिएको छ । मन्त्री पाण्डेको अभिव्यक्तिमाथि विस्तृत छलफल गर्न आवश्यक ठहरिएमा विधानअनुसार निर्णय गर्न पनि उनले भनेका छन् ।
