
काठमाडौं, २ चैत । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान र गणतन्त्रको माया नै नरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले दुई÷दुई पटक संसद् विघटन गरेर संविधान च्यातेको बताए । डेमोक्रेटिक र आफूलाई नेपालको जेठो पार्टी हुँ भन्ने कांग्रेसले संविधान र गणतन्त्रविरोधी ओलीसँग घाँटी जोडेर सत्तामा बस्नु गलत रहेको बताए ।
‘कांग्रेस पार्टी, एउटा डेमोक्रेटिक पार्टी, संविधान च्यात्ने, संसद् विघटन गर्ने ओलीसँग घाँटी जोडेर किन सरकारमा बस्यो ? त्यही चाहीँ मैले प्रश्न गर्छु । प्रधानमन्त्रीले दुई–द्ुई पटक संसद् विघटन गर्नुभयो । संविधानमा विघटन गर्ने कुनै व्यवस्था नै छैन । तर, उहाँले विघटन गरेर देखाउनु भयो । उनले दुई तिहाइ संख्या लिएर पनि विघटन गरे । ओलीजीलाई यो संविधानसँग माया पनि छैन र गणतन्त्रसँग माया पनि छैन । यस्तो शक्तिसँग मिलेर आज सरकार चलाउने भनेको नेपाली कांग्रेसलाई नै नोक्सान हुन्छ भन्ने मलाई लाग्छ । आफूलाई डेमोक्रेटिक पार्टी, नेपालको सबैभन्दा जेठो पार्टी हुँ भन्नेले बेलैमा बुझ्न जरुरी छ,’– उनले भने ।
साथै, नेपाली कांग्रेसक र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको उनको दाबी छ । सरकार असफल भएकै कारण आफूहरु जनताको जनजीविकाको सवाल लिएर सडकमा आउन लागेको पनि उनले बताए । नेता पाण्डेले भने, ‘संगठन अहिले दुइटा पार्टीको सरकार पूर्णतः असफल भयो भन्ने हिसाबले हामी जनताको दैनिक जीवनका समस्यालाई लिएर सडकमा जान खोजेका हौं ।’
त्यसैगरी, फरक प्रसंगमा उनले अब नेपालमा कुनै पनि हालतमा राजतन्त्र पुनर्स्थापनाको सम्भावना नरहेको बताए । नेपाली जनताले चुनेको ६०१ जना जनप्रतिनिधिहरुको थलो संविधान सभाले विधिवत रुपमा राजसंस्था अन्त्यको घोषणा गरिसकेकाले अब त्यसको कुनै पनि सम्भावना नै नरहेको उनले सुनाए ।
‘पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले राजा बनाउन खोजेको छ, त्यो कुरा त कदापि हुने कुरा नै होईन । नेपाली जनताले चुनेको संविधान सभाबाट २०६५ साल जेठ १५ गते ६०१ जनाको संविधान सभाले पारित गरेर राजालाई हामीले विदा गरेका हौं । गणतन्त्र ल्याएका हौं । बाटोमा हिँड्दाहिँड्दै विरोध गरेर राजालाई हटाएको होइन । एउटा सिस्टमले हटाइसकेको राजा अब फर्किँदैनन् । आजभन्दा धेरै वर्ष अगाडि अफ्गानिस्तानबाट हटाइएका जाहिर शाह अहिले पनि इटालीमा गएर बसेर राजा हुन्छु भनिरहेका हुन्छन् । यो स्वाभाविक हो, उनीहरुले बोल्न सक्छन् । तर, उनीहरुले फेरि राजा फर्काउन सक्दैनन् । यहाभन्दा अगाडि नबढे हुन्छ भन्ने लाग्छ मलाई,’– नेता पाण्डेले भने ।