Logo

राजसंस्था पुनर्स्थापनाको लागि भारतको सद्भाव आवश्यक छः रविन्द्र मिश्र (भिडिओसहित)



काठमाडौं, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालमा राजसंस्था पुनर्स्थापनाको लागि छिमेकी मुलुक भारतको सद्भाव पनि आवश्यक पर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली जनता राजतन्त्रको पक्षमा उद्देलित भइसकेको अवस्थामा छिमेकी मुलुक भारतको सद्भाव रहनेमा विश्वास व्यक्त गरे ।

उनले भने, ‘राजसंस्थाको पक्षमा जनता उद्देलित भएका छन् । यस्तो अवस्थामा छिमेकीहरुको सद्भावको पनि आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय राजनीतिको यो आधारभूत आवश्यकता नै हो । यसो भएको हुनाले यहाँ चाहीँ अरुले राजा ल्याइदिने भन्ने कुरा होइन । तर, हामीलाई छिमेकीको सद्भाव चाहीँ आवश्यकता पर्छ ।’

राजसंस्था पुनर्स्थापना हुनुपर्छ भन्ने भावना नेपालभित्र दरिलो रुपमा देखा परेको उनले बताए । नेपाली जनता र छिमेकी मुलुक भारतकै हितमा पनि उसले अब नेपालप्रतिको दुई खम्बे नीति संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र बनाउँदा उपयुक्त हुने उनको सुझाव छ ।

‘नेपालभित्रै राजसंस्था पुनर्स्थापना हुनुपर्छ भन्ने दरिलो भावना भएपछि त्यो भावनामा भारतले अब नेपालको हितमा मात्रै होईन, भारतको हितमा पनि । पहिलाको जस्तै दुई खम्बे नीति , त्यो भनेको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भारतको नेपालप्रतिको जुन नीति थियो, अब त्यो विदेश नीतिमा भारत फेरि फर्किनु नेपालको मात्रै होइन, भारतको पनि हितमा हुन्छ,’– उनले भने ।

भारतले नेपालको गणतन्त्रात्मक नीतिलाई १७/१८ वर्षसम्म साथ दिएको उनले बताए । गणतन्त्रले नेपालको शान्ति, स्थिरता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सौहार्दतामा मात्रै नभएर छिमेकी मुलुक भरतलाई पनि दीर्घकालीन रुपमा क्षति पुर्याउनले उनको दाबी छ । भारतलाई पनि आफ्नो पुरानो दुई खम्बे नीतिमा फर्किनु आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्