Logo

पाठक र विष्टले प्रदेशसभाको सभामुखबाट बाहिरिनुपर्ने वरिष्ठ उपाध्यक्ष मिश्रको अडान, घनघोर रुपमा संविधान र व्यवस्थाको विरोधमा उत्रिन आग्रह



काठमाडौं, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टीबाट निर्वाचित भएर प्रदेश सभाको सभामुखको भूमिकामा रहेका सांसदहरुलाई उक्त भूमिकाबाट फिर्ता हुन आग्रह गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाको आधारभूत मूल्यमान्यता भन्दा सभामुखको भूमिका एकदमै फरक विषय रहेको बताए । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक र कोशी प्रदेश सभामा सभामुख अम्बर बहादुर विष्ट राप्रपाबाट निर्वाचित सांसद हुन् ।

राप्रपाको अहिलेको बटमलाइन भनेको संविधान भंग गर्नुपर्छ भन्ने रहेको उनले बताए । सभामुखको पद संविधान कार्यान्वयन र पालना गराउने रहेको बताउँदै उनले त्यसबाट फिर्ता भएर संविधान र व्यवस्था खारेजीको पक्षमा प्रदेश सभामा घनघोर रुपमा आवाज उठाउनुपर्ने उनको माग छ ।

‘राप्रपा अहिलेको संविधा भंग गर्नुपर्छ भन्ने पार्टी हो । राप्रपा संविधान लागू गर्नुपर्छ भनेर भूमिका खेल्ने कार्यकारी पार्टी होईन । प्रदेश संसद्मा पनि हाम्रा सभामुखहरु छन् । सभामुखको पद भनेको संविधानको पालना गराउने र लागू गराउने पद हो । राप्रपा संविधान लागू गराउन र पालना गराउन चाहँदैन । प्रदेश संसद्मा सांसदहरु उभिएर घनघोर रुपमा यो संविधान र व्यवस्थाको विरोध गर्नु उपयुक्त हुन्छ । उनीहरुले प्रदेश सभा सदस्य छोड्नुपर्दैन । तर, सभामुखबाट चाहीँ फिर्ता हुनु राम्रो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्