
काठमाडौं, २ चैत्र । नेपालका ख्याँतिप्राप्त अर्थशास्त्रीहरुले देश अहिले गम्भीर आर्थिक, सामाजिक तथा राजनीतिक संकटको संघारमा रहेको भन्दै देश टाट पल्टिनसक्ने जोखिमपूर्ण अवस्थाबाट बचाउनको लागि संयुक्त अपिल गरेका छन् । उनीहरुले नेपालमा विचौलिया वर्गले बढी पुँजी निर्माण र पुँजीको पलायन गरएको संकेत देखिन थालेको पनि निश्कर्ष निकालेका छन् ।
कल्किजम रिसर्च एण्ड ट्रेनिङले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमार्फत देशलाई सही दिलाउनको लागि पनि सेन्टरले अघि सारेको अवधारणालाई सबैले साथ र समर्थन दिए सपना साकार हुने विश्वास दिलाईएको छ ।
पत्रकार सम्मेलनमा प्रा.डा. कुशुम शाक्यले अहिलेको देशको समग्र समस्याको समाधान दिनेगरि आफूहरु अग्रसर भएको सुनाईन् । उनले भनिन्,‘यो हाम्रो एकमुष्ट आवाज हो । तमाम नेपालीहरुको आवाज हो । देश विकास भएन, अब समस्याको समाधानतर्फ हामी जान्छौं । राजनीतिक उद्देश्यले होईन । अर्थशास्त्र ब्याकग्राउण्डबाट छौं । निरीह भएर बस्न मिल्दैन, समाधानको लागि अगाडि आएका छौं ।’
उनले पैसा चलायमान हुँदा नै देशको विकास हुने भन्दै क्यासलेस इकोनोमीको महत्व सुनाईन् । उनले भनिन्,‘पैसा भन्ने कुरा जम्मा पार्ने कुरा होईन, पैसा चलायमान हुनुपर्छ । अहिले अघि सारिएको यो अवधारणा यो तीन करोड जनताको लागि हो । लगानीको वातावरण बनाउनुपर्छ । नेपाललाई विश्वमै नमूना बनाउन सकिन्छ ।’
अर्का अर्थशास्त्री सञ्जय आचार्यले रिसर्च सेन्टरले अघि सारेका कुराहरुमा सकारात्मक पक्ष देखेको बताए । सो क्रममा उनले नगदमा आधारित सामाजिक सुरक्षालाइ सेवामा आधारित बनाउनुपर्ने प्रस्ताव राखे । आधारभूत आवश्यकत्ता शिक्षा, स्वास्थ्य र कानूनी सेवा निःशुल्क बनाउने प्रयास एकदमै सराहनीय भएको भन्दै यसप्रति ठोस कार्यान्वयन गरिने विश्वस दिलाए । भ्रष्टाचार नियन्त्रण गर्नको लागि पनि सेन्टरले अघि सारेको क्यासलेस करेन्टी र स्मार्ट करेन्सीको अवधारणाले ठूलो सहयोग पुग्ने उनको भनाई छ। एनले भने,‘नगदरहित कारोबार प्रमोट गर्नुपर्छ । शहरी क्षेत्रमा त क्यासलेस हुँदै गएको छ । ग्रामिण भेगमा जय साहजीले भनेजस्तो स्मार्टनेस करेन्सी लागु हुनेछ ।’
यस्तै, अर्का अर्थशास्त्री घनश्याम दवाडीले आफ्नै इफोर्टले मुलुकको उत्पादकत्व बढाउने कुरा गरेको भन्दै अघि सारिएको अवधारणा साकार हुने विश्वास दिलाए । उनले नेपालको हकमा भने यसअघि योजना बनाउँदा विज्ञता नहेरिएको गुनासो पोखे । तर, आफूहरुले निस्वार्थ भावनाले देशको समग्र विकासमा टेवा पुर्याउनको लागि काम गरेको उनको भनाई छ । सेन्टरले अघि सारेको मुद्दा र इस्यु राम्रो भएकोले सहकार्य गरिएको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा अर्थशास्त्री डा. उमाशंकर प्रसादले सेन्टरको उद्देश्य र गरिरहेको कामको बारेमा प्रकाश पारेका थिए । आफ्नो धारणा राख्ने क्रममा प्रसादले नेपालको अर्थ व्यवस्थाको स्वरुप क्रोनिक क्यापिटलिजम भएको बताए । उनले भने,‘सरकारलाई केही व्यक्तिले प्रभावित पारेको अवस्था छ । त्यो संरचनाअन्तर्गत सरकारले देश नचलाई, केही व्यक्ति वा समूहबाट देश चलाउने काम गरेको छ।’
संविधानले समाजवादको यात्रा तय गर्ने भनेको भएपनि नेपालमा अहिले विद्यमान संरचना क्रोनिक क्यापिटजिलम भएको प्रसादको दाबी छ । उनले भने,‘यसबाट मुलुकलाई सोसियलिजममा रुपान्तरण गर्ने हो । सरकार बलियो बनाउनुपर्छ । त्यसको लागि शतप्रतिशत क्यासलेस भएपछि भ्रष्टाचार यिनन्त्रण हुन्छ । सरकारसँग प्रश्स्त पुँजी हुन्छ । दोस्रो, शिक्षा, स्वास्थ्य, कानूनी सेवा निःशुल्क गर्ने । संरचनात्मक सिफ्ट गरौं ।’
प्रसादले नेपालमा कल्कीवादको नयाँ अवधारणा विकास गरिएको त्यसअनुसार कर्मको आधारमा ज्याला पाउने कुरा गरिएको सुनाए । उनले भने,‘कर्मलाई उपभोगमा रुपान्तरण गर्नुहुन्छ भने, कामको आधारमा ज्याला पाईन्छ, ज्यालाको आधारमा धेरै सामनता हुन्छ । आय र खर्चमा धेरै फरक हुँदैन् । केही वेस्टर्न फिलोसिपी पनि गाभ्नेछौं ।’

कल्किजम रिसर्च सेन्टरका संस्थापक तथा नेपाललाई विश्व गुरू बनाउने परिकल्पना बोकेका जय साहले आफूहरुले अघि सारेको अवधारणा लागु गर्न सरकार र यसका संयन्त्रहरु सक्रिय नभएको आरोप लगाएका छन् । उनले आफूहरुको नयाँ अर्थनीति कल्कीवाद भएको पनि सुनाए । आफूले अघि सारेको अवधारणाले देश टाट पल्टिनबाट बच्ने, प्रत्येक वर्ष २० हजार नेपालीको ज्यान पनि बच्ने, स्वास्थ्य, शिक्षा र कानूनी सेवा सबै नेपालीलाई निःशुल्क गरिने सुनाए ।
प्रेस विज्ञप्ति
नेपाली जनतासँग अर्थशास्त्रीहरूको अपील
नेपाल अहिले गम्भीर आर्थिक, सामाजिक र राजनीतिक संकटको संघारमा छ। राष्ट्रको नीति निर्माण राष्ट्रिय पुँजीको संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूति हुने ढंगले गर्न खोजिएपनि विचौलिया वर्गले बढी पुँजी निर्माण र पूँजिको पलायन गराएको संकेतहरू देखिन थालेको छ, जसले गर्दा देश टाट पल्टिन सक्ने जोखिमपूर्ण अवस्थामा पुगेको छ। आर्थिक अस्थिरता, बेरोजगारीको वृद्धिद्धर र बढ्दो महँगीजस्ता समस्याहरुले मुलुकलाई थप संकटतर्फ धकेलिरहेको छ । सरकारी नीति निर्माण प्रक्रियामा पारदर्शीता र दीर्घकालिन सोचको कमीको कारण देशको समग्र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव परेको छ ।
स्वाश्थ्य क्षेत्रमा प्रभावकारी सरकारी नियन्त्रण नहुँदा हाल मुलुकमा एन्टिबायोटिक प्रतिरोध बढ्दै गैरहेको छ जसले उपचार खर्च महंगो र अप्रभाबकारी बन्दै गएको छ । शिक्षा क्षेत्र चरम व्यापारिकरण हुनुका साथै खस्कँदो गुणस्तरले वर्षेनी बढ्दो सँख्यामा नेपाली विद्यार्थीहरू विदेशी विश्वविद्यालयहरूमा अध्ययनका लागि जाने हुनाले वैदेशिक मुद्रामा ठूलो चाप पर्दै गएको छ । शिक्षा र स्वास्थ्य सेवा महँगो भएको कारण सामान्य नेपाली नागरिकहरुको आम्दानीले दैनिक आवश्यकत्ताहरु प्ूरा गर्न निकै गाह«ो बनाईरहेको छ, जसका कारण नेपालीहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।
यसरी शिक्षा र स्वास्थ्यको खस्कँदो वातावरणसँगै आत्महत्या, हत्या, वायु प्रदूषण, बाढी–पहिरो, दाइजो प्रथा, भ्रुण हत्यालगायतका समस्याले हरेक वर्ष २०–२५ हजार नेपालीको अकाल मृत्य भैरहेको छ । यस्ता सामाजिक तथा आर्थिक समस्याको स्थायी समाधानका लागि हरेक नेपालीलाई निःशुल्क स्वास्थ्य, शिक्षा, तथा कानुनी सेवा उपलब्ध गराउने, र मुलुकलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउने नीति आवश्यक छ।
नेपालको सोह्रौं योजनामा समावेश गरिएको १००% नगदरहित कारोबारलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने समय आइसकेको छ। विशेषगरी, ग्रामीण भेगमा नगदरहित प्रणाली लागू गर्न अमेरिका निवासी, जनकपुरका उद्यमी जय साह द्वारा प्रस्ताव गरिएको स्मार्ट करेन्सी अवधारणालाई कार्यान्वयन गर्नु मुलुकको हितमा छ।
यस आर्थिक क्रान्तिलाई सार्थक बनाउन केही प्रकाशनहरू पनि भएका छन् । जय साह र डा. उमाशंकर प्रसादद्वारा लेखिएको “नेपाललाई विश्वगुरु बनाउन आर्थिक क्रान्ति“ पुस्तकलाई जतिसक्दो बढी बिक्री भएमा, यो अवधारणालाई संस्थागत गर्ने सबल आर्थिक नीति निर्माणको मार्ग प्रशस्त हुनेछ। पहिलो चरणमा तीनलाख प्रति विक्री गर्ने योजना अनुसार यो बजारमा आइसकेको छ । यस अभियानले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउनुका साथै टाट पल्टिनबाट जोगाउने छ।

अर्थशास्त्रीहरूको संयुक्त अपील
१. डा. उमाशंकर प्रसाद
२. प्रा. डा. कुशुम शाक्य
३. प्रा. डा. सञ्जय आचार्य
४. डा. प्रांशु नेपाल
५ . बैकुण्ठ पाण्डे
६. बासुदेव खनाल
७. घनश्याम दवाडी
८. जीवन प्रसाद बञ्जारा
९. प्रमोद प्यारा श्रेष्ठ
१०. श्रीभद्र पण्डित
११ . डा अभिषेक अमर
१२. डा. अभिषेक झा
१३. डा. रोशनी अधिकारी
१४ . जय साह
३० देखि ४० वर्षमा एक करोड भन्दा बढी नेपालीलाई अकाल मृत्युबाट जोगाउन, शिक्षा, स्वास्थ्य, र कानुनी सेवा निःशुल्क गर्ने अभियानमा सहभागी बनौं ।