
काठमाडौं, ३ चैत । राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले युवा साहित्यिक सम्मेलन आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो । आगामी चैत २० गतेबाट सम्मेलन सुरु हुने छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव एवं शिक्षा विभागका संयोजक कुबेर अधिकारीले सम्मेलनमा ४० वर्षमुनिका सबैले सहभागिता जनाउन सक्ने बताए ।
सम्मेलनमा सहभागीहरुले गजल, कविता, निबन्ध, वक्तृत्वकलामा भाग लिन सक्नेछन् । गजल, कविता, निबन्ध भने अनलाइनमार्फत पठाउन सकिने र वक्तृत्वकला भने भौतिक उपस्थितिमै हुने बताइएको छ । ‘देशमा भएका विषय वस्तुहरु र देशमा गर्न सकिने विषयवस्तुहरुमा सकारात्मक र सिर्जनात्मक रुपमा लेखमार्फत अभिव्यक्तिहरु दिन सकिन्छ भन्ने उद्देश्यका साथ युवा साहित्य सम्मेलन–२०८१ यही चैत २० गतेदेखि सञ्चालन गर्न गइरहेका छौं,’– युवा संघका शिक्षा विभाग प्रमुख अधिकारीले भने ।
मानिसले आफैंमा सकारात्मकता पैदा गर्नुपर्छ र समाजमा नवीन कुराहरु प्रस्तुत गर्नुपर्छ भनेर लिटेचर फेस्टिभल आयोजना गरिएको उनले बताए । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले १४ गते राति १२ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने बताइएको छ ।