
काठमाडौं, ३ चैत । सोभर रिकभरी ट्रिट्मेन्ट एण्ड रिहाविलिटेसन सेन्टरले दोस्रो गोकर्णेश्वर सोभर रिकभरी फुट्सल टुनामेन्ट आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरी आगामी (अप्रिल ३ र ४ तारेख) चैत २१ र २२ गते काठमाडौंको माकलबारीस्थित मनकामना फुट्सलमा टुनामेन्ट आयोजना गरिएको जानकारी गराइएको हो ।
उक्त फुट्सल टुनामेन्टमा १६ टिमले भाग लिने र दुई टिम भने छिमेकी मुलुक भारतबाट सहभागी हुने प्रोगाम म्यानेजर श्रीवीर लामाले बताए । प्रोगाम म्यानेजर लामाका अनुसार छिमेकी मुलुक भारतसहित काठमाडौं उपत्यका र उपत्यका बाहिर धरान, चितवन, बुटवल, पोखरालगायत सातै प्रदेशबाट टिमहरु सहभागी हुँदैछन् । विगतमा लागूऔषधको दुर्व्यसनीमा फसेर अहिले सामान्य जीवनमा फर्किइसकेकाहरु सो फुट्सल टुनामेन्टमा सहभागी हुने बताइएको छ ।
फुट्सल टुनामेन्टमा प्रथम हुने टिमलाई ३ लाख र दोस्रो हुने टिमलाई १ लाख ५० हजार पुरस्कारको व्यवस्था रहेको बताइएको छ । त्यस्तै, म्यान अफ द म्याचलाई क्वाटर फाइनलबाट ५ हजार, वेस्ट प्लेयर, वेष्ट किपर, वेष्ट डिफेल्सरलगायतलाई फ्याबुलर्स क्लोथिङ स्टोरबाट गिफ्ट ह्याम्परको व्यवस्था रहेको पनि बताइएको छ । हेरक म्याच काष्ठमाण्डप टेलिभिजनबाट लाइभ टेलिकास्ट गरिने पनि बताइएको छ ।