
काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्न प्रस्ताव राखेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्ने क्रममा घिमिरेले यस्तो प्रस्ताव राखेका हुन् । उनले मदिर तथा धार्मिकस्थलमा मदिराजन्य पसलहरु राख्न नहुने तर यसको लागि पनि निश्चित् ठाउँ छुट्याउनुपर्ने बताएका हुन् ।
उनले भने,‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ ।’
उनले धार्मिक पर्यटकले खर्च कम गर्ने तर मनोरञ्जनमा आउने पर्यटकले खर्च धेरै गर्ने तर्क दिँदै नेपालमा यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने धारणा राखेका हुन् । उनले साहसिक (एड्भेन्चर) का पर्यटकपनि थोरै हुने तर संसारभरि नै सबभन्दा धेरै पर्यटक मनोरञ्जनका हुने दाबी पेश गरे । उनले भने,‘मनोरञ्ज्नका पर्यटकलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ ।’