
काठमाडौं, ३ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) लाभकारी प्रोजेक्ट हो भन्ने कुरा प्रमाणित भइसकेको बताएका छन् । आज (आइतबार) फाउन्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसिलिजमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागू भइसकेको र त्यसबाट यो लाभकारी प्रोजेक्ट हो भन्ने पुष्टि भएको बताएका हुन् ।
‘बिआरआई नेपालले लिने कि नलिने ? यो ठूलो विवादको विषय बन्नुपर्ने चिज नै होईन । आजको जुन विश्वपरिप्रेक्ष्य छ, बीआरआई लाभकारी प्रोजेक्ट हो भन्ने कुरा प्रमाणित भइनै सक्यो । हाम्रै निम्तिमात्रै होइन । १५० भन्दा बढी देशहरुले त्यसलाई ग्रहण गरेर सिद्ध गरिसकेको अवस्था हो । त्यसकारणले यो ठूलो डिवेटको विषय होइन । त्यसमाथि ऋण लिने कि अनुदान लिने भन्ने त प्रश्न नै होइन । यसमा ग्राण्ट पनि हुनसक्छ, सफ्ट लोन पनि हुनसक्छ । विभिन्न किसिमका व्यवसायिक लोनहरु पनि हुनसक्छन् । एकदमै सहुलियतपूर्ण चिजहरु पनि हुनसक्छन्,’– उनले भने ।