
सर्लाही, ३ चैत । दुई दशक अगाडिसम्म साविक हजरिया गाविस–५ तथा हाल बरहथवा नगरपालिका–३ मा रहेको सरस्वती माध्यमिक विद्यालयको छुट्टै वैभक र कीर्ति थियो । वि.सं २०१९ स्थापना गरिएको विद्यालयबाट शिक्षा आर्जन गरेर धेरै राष्ट्रिय प्रतिभा बनिसकेका छन् । यो स्कुलले मन्त्री, कलाकारदेखि राष्ट्रिय खेलाडीसम्म जन्माइसकेको छ । चर्चित कलाकार निखिल उप्रेती, कलाकार शिवशंकर रिजाल, गायक शिव परियार, कर्णराज गिरीदेखि बुद्ध लामासम्म यही स्कुलले जन्माएका प्रतिभा हुन् ।नगरपालिका हुनु अगाडि हजरिया गाविस हुँदा यहाँ आसपासका धेरै गाविस तथा गाउँबाट पठनपाठनका लागि विद्यार्थी आउने गर्थे । स्थानीय स्रोतसाधनबाट सञ्चालित यो मावि सर्लाहीकै नमुना विद्यालयमा पथ्र्यो । अहिले पनि विद्यालयमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तर विद्यालयको पहिलेको गरिमा र पहिचान गुम्दै जाने खतरा देखिएको छ ।
चरम राजनीतिका कारण अहिले विद्यालयको इज्जत र प्रतिष्ठा गुम्दै गएको छ । स्कुल व्यवस्थापन समितिकै असमक्षताका कारण पैसा हुनेले विद्यालयलाई आफू र आफ्नो परिवारको प्रचार गराउने थलोमा परिणत भएको छ । यसको ज्वलन्त उदाहरण हो हालै स्कुल परिसरमा अनधिकृत व्यक्तिको शालिक स्थापना गरिनु । स्कुलसँग कुनै साइनो नै नजोडिएका वासुदेव उपाध्यायको अर्धकदको शालिक राखिएपछि अहिले यसको व्यापक विरोध भइरहेको छ । स्कुलका अभिभावकदेखि अध्ययनरत विद्यार्थी र पूर्वविद्यार्थीहरुले यसको कडा आलोचना गरेका छन् । नवराज आचार्य जो सोही स्कुलका पूर्वविद्यार्थी हुन् । उनैले आफ्नो मावलीपट्टिका हजुरबुबाको शालिक पुस अन्तिम साता विद्यालय व्यवस्थापन समितिलाई झुक्याएर स्थापना गरेपछि यसको व्यापक आलोचना भइरहेको हो । आचार्यले २०६८ माघ १४ गते हजुरबुबा वासुदेव उपाध्याय र हजुरआमा दुर्गादेवी आचार्यको सम्झनामा सरस्वती मन्दिर निर्माण र मूर्ति स्थापना गरेका थिए ।
स्कुल प्रांगणमा सरस्वती देवीको मन्दिर र मूर्ति स्थापना भएकामा धेरैले त्यति चासो पनि राखेका थिएनन् । शिलालेखमै सबै उल्लेख गरिएको थियो । तर यतिमै नवराज रोकिएनन् । उनले पैसाकै बलमा हजुरबुबाकै शालिक स्थापना गरेपछि जनस्तरमै विरोध भएको हो । विद्यालय व्यवस्थापन समितिले स्कुलका संस्थापक डिल्लीबहादुर गिरी र नन्दलाल गिरीको शालिक राख्न सकिने, तर अनधिकृत व्यक्तिको शालिक राख्न नसकिने अडान लिएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञबहादुर खड्काले पनि आफूलाई झुक्याएर शालिक स्थापना गरिएको बताउँछन् ।
स्कुल संस्थापकको शालिक स्थापना गर्ने भनेर झुक्याई नवराज आचार्यले आफ्ना दिवंगत हजुरबुबाको स्थापना गरेको शालिक हटाउनुपर्ने आवाज उठेको छ । बरहथवा नगरपालिका–३ का अध्यक्ष नन्दकिशोर महतोले पनि शालिकको विषयमा व्यापक विरोध भइरहेको बताए । उनले स्कुल संस्थापककै शालिक राख्ने भनेकोमा कसैलाई थाहै नदिई वासुदेव आचार्यको शालिक राखिएको उनको भनाइ छ ।
तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य रामउदेश महतोले वासुदेव आचार्यको शालिक स्थापना गर्ने विषयमा कुनै सहमति नभएको बताए । नवराजले आफूहरुलाई गुमराहमा राखेर शालिक स्थापना गरिएको उनको भनाइ छ । विद्या आर्जन पवित्र भूमिमा जसले स्कुल स्थापना गरेको हो, उसकै शालिक राख्ने आमप्रचलन छ । तर सरस्वती माविमा त्यस्तो भएन । त्यहाँ अध्ययन गर्ने र बुद्धिजीवी जति सबै बाहिर रहेको मौका छोपेर विद्यालय व्यवस्थापन समितिका केही सदस्य र स्कुलका नाम चलेका केही शिक्षकको मिलेमतोमा करोडपति व्यवसायीका हजुरबुबाको शालिक राखिएको स्थानीयको आरोप छ ।