
काठमाडौं, ५ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सञ्चालनमा मधेश प्रदेश सरकार सामेल नहुने बताएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष नियुक्तिमा असन्तुष्टि जनाउँदै एसइई परीक्षामा प्रदेश सरकार सामेल नहुने बताएका हुन् ।
एसइई परीक्षा लाई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्नेगरी निश्चित विधि र प्रक्रिया तय गरेर प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिमार्फत प्रदेशका सबै जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिएइसक्दा पनि केन्द्र भएकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति दिने तयारी गरिएको भन्दै मुख्यमन्त्री सिंहले असन्तुष्टि जनाएका हुन् ।
पठनपाठनको गुणस्तर तथा प्रभावकारिता वृद्धि गर्न जिम्मेवार नबन्ने र अनियमितता गरेर भए पनि परीक्षा उतीर्ण हुने जोखिमपूर्ण तथा आपराधिक मनोविज्ञानलाई बढावा दिनेगरी स्थापित शिक्षा प्रणालीमा सुधार हुनुपर्ने मुख्यमन्त्री सिंहको माग छ । चिटिङको समस्या, परीक्षा सुरु नहुँदै प्रश्नपत्रहरू बाहिरिने स्थिति, विद्यार्थीलाई चिट चोराउन केन्द्राध्यक्ष र शिक्षकहरूको बढ्दो सक्रियतालगायतका समस्या समाधानका लागि गोलाप्रथाबाट केन्दाध्यक्ष चुनिनुपर्ने मुख्यमन्त्री सिंह बताउँछन् ।
मुख्यमन्त्री सिंहले विकृति र बेथिति निम्त्याउने परी तय भएको परीक्षामा असङ्गत निर्णयको साक्षी किनारा प्रदेश सरकार नबस्ने बताए । ‘प्रदेश सरकार र सङ्घ सरकारको निर्देशनलाई चुनौती दिनेगरी भएका केन्द्राध्यक्ष चयनको पृष्ठभूमिका विषयमा गहिरो छानबिन गरी त्यसभित्रका अन्तरवस्तु केलाएर परीक्षा प्रणालीलाई मर्यादित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराउँदछौं । सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा अझै सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराउँदछु,’– मुख्यमन्त्री सिंहले भनेका छन् ।