
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा राजावादीहरुको गतिविधिबारे समीक्षा भएको छ । आज (मंगलबार) बसेको बैठकले राजावादीहरुको क्रियाकलापको समीक्षा गर्दै आगामी चैत १० गते कार्य सम्पादन समितिको बैठकसमेत आह्वान गरेको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैठकमा राजावादीहरुको गतिविधिको बारेमा छलफल भएको र अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप निर्णय लिने बताए ।
‘यसमा समान्य समीक्षा भयो । हामीले जुन संविधान निर्माण गरेका छौं, जनताबाट निर्वाचित प्रतिनिधिहरुले यो संविधान निर्माण गरेको हो । त्यसकारण जनताले बनाएको संविधानबाट सरकार सञ्चाजित छ । उपलब्धीको रक्षा गर्ने कुरा हो । त्यसमा कुनै दुविधा छैन,’ प्रवक्ता महतले भने, ‘यस व्यवस्थाअन्तर्गत निर्वाचित सरकारको कमीकमजोरी छ भने, जनअपेक्षा पूरा भएको छैन भने त्यो अपेक्षा पूरा गर्ने दायित्व पनि सरकारको नै हो । १० गतेको मिटिङमा पनि हामीले यो समीक्षा गर्छौं ।’
साथै, उनले बैठकमा सर्वदलीय सरकारको बारेमा कुनै छलफल नभएको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका शक्तिहरु यो संविधान र व्यवस्थाकै पक्षमा हरेको र उनीहरु सत्तामा आउँदामात्रै व्यवस्था र संविधान बलियो हुने भन्ने नरहेको उनले बताए । गणतन्त्र र संविधानको रक्षाको पक्षमा ओवादीलगायतका सबै दलको एक मत रहेको पनि उनले बताए । ‘अहिले सर्वदलीय सरकारको बारेमा केही कुरा भएको छैन । विपक्षीमा रहेका दल माओवादीलगायत पनि संविधान रक्षाकै पक्षमा छन् । जुन गणतान्त्रिक व्यवस्था यो संविधानले सुनिश्चित गरेको छ, त्यसकैको पक्षमा छन् । यो ईश्यूमा सबै एकमत छन्,’– प्रवक्ता महतले भने । File Photo/RN