Logo

दिक्ष्या फाउन्डेशनद्वारा वार्षिक भेटघाट कार्यक्रम २०८१ सम्पन्न, फाउण्डेशनको योगदानको चर्चा



काठमाडौं, ५ चैत्र । दिक्ष्या फाउन्डेशनले वार्षिक भेटघाट कार्यक्रम २०८१ शनिबार नक्साल, काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ । शिक्षा, ग्रामीण विकास, र दिगो कृषि प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्व, साझेदार संस्था, तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति दिक्ष्या फाउन्डेशनका अध्यक्ष सोश्रीन शर्मा हुनुहुन्थ्यो भने नीलकण्ठ नगरपालिका–११, धादिङका वडाध्यक्ष राम बहादुर श्रेष्ठ प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा वर्ल्ड वाइड गोट प्रोजेक्ट नेपाल (WWGPN) का संस्थापक ड्यानियल ली लेनी र राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर, तनहुँका निर्देशक डा. राजु कँडेल रहनुभएको थियो।

दिक्ष्या फाउन्डेशनको योगदान र सहकार्यको चर्चा

कार्यक्रमको सुरुवात दिक्ष्या फाउन्डेशनका परियोजना व्यवस्थापक प्रकाश धमलाले स्वागत मन्तव्य र वार्षिक प्रतिवेदन प्रस्तुत गरेर गर्नुभयो। उहाँले संस्थाले शिक्षा, दिवा खाजा सहयोग, बाख्रापालन तालिम, र वातावरणीय सचेतनामा पुर्याएको योगदानबारे जानकारी गराउनुभयो।

डा. राजु कँडेल ले दिक्ष्या फाउन्डेशन र WWGPN सँगको सहकार्यको अनुभव सुनाउँदै ग्रामीण किसानहरूलाई सक्षम बनाउन गरिएको लामो यात्राबारे प्रकाश पार्नुभयो।

यस्तै, दिक्ष्या फाउन्डेशनबाट छात्रवृत्ति प्राप्त छात्रा जाङ्मु शेर्पाले कोभिड-१९ महामारी र भूकम्पको कठिन समयमा छात्रवृत्ति कार्यक्रमले आफूलाई कसरी सहयोग गर्‍यो भन्ने आफ्ना प्रेरणादायी अनुभवहरू साझा गरिन्।

ड्यानियल ली लेनीलाई सम्मानपत्र प्रदान

कार्यक्रमको मुख्य आकर्षण वर्ल्ड वाइड गोट प्रोजेक्ट नेपाल (WWGPN) का संस्थापक ड्यानियल ली लेनीलाई सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रह्यो।

उक्त सम्मान पत्र प्रमुख अतिथि राम बहादुर श्रेष्ठले, नीलकण्ठ नगरपालिका–११ को तर्फबाट, डा. राजु कँडेल र सोस्रिन शर्माको सहकार्यमा हस्तान्तरण गर्नुभयो।

ड्यानियल ली लेनीले सम्मान ग्रहण गर्दै आफ्नो प्रेरणादायी बाल्यकालको अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो, “जब म चौथो कक्षामा पढ्थेँ, मैले विश्व नक्सामा नेपाल देखाएर मेरो शिक्षिकालाई भनेको थिएँ – एकदिन म नेपाल जानेछु। तर मेरी शिक्षिकाले मलाई टोक्दै भनिन्, ‘तिमी जस्तो गरिब केटोले नेपाल जान सक्छौ र? चुप लाग र बस!’”

तर, आफ्नो दृढ संकल्पका कारण सन् १९९० को जुन महिनामा पहिलोपटक नेपाल आइपुगेपछि, उहाँले पटकपटक नेपाल भ्रमण गर्नुभयो र यहाँका किसान तथा विद्यार्थीहरूको उत्थानमा आफ्नो जीवन समर्पित गर्नुभयो। “नेपालले मलाई सधैं खुला हृदयले स्वागत गर्यो। म सकेसम्म धेरै सहयोग गर्न चाहन्छु र जतिसम्म सकिन्छ, यहाँका किसान र विद्यार्थीहरूलाई सघाइरहनेछु,” उहाँले भन्नुभयो। उहाँले बाख्राको दूधको पोषण मूल्य बारे पनि चर्चा गर्दै यो गाई र भैंसीको दूधभन्दा स्वस्थकर र लाभदायक रहेको बताउनुभयो।

स्थानीय कृषकहरूको सशक्तीकरणमा प्रतिबद्धता

प्रमुख अतिथि राम बहादुर श्रेष्ठ ले आफ्नो मन्तव्य राख्दै ड्यानियल ली लेनी, WWGPN, र दिक्ष्या फाउन्डेशन लाई नीलकण्ठ-११ का किसान तथा विद्यार्थीहरूको जीवनस्तर सुधार गर्न पुर्याएको योगदानका लागि गहिरो आभार प्रकट गर्नुभयो।

उहाँले भन्नुभयो, “नीलकण्ठ-११, ज्यामरुङका किसानहरूलाई बन्दीपुरमा पुर्याएर आधुनिक बाख्रापालन प्रविधिबारे प्रत्यक्ष रूपमा सिकाउने अवसर उपलब्ध गराउनु अत्यन्तै प्रभावकारी कार्यक्रम रह्यो। प्रत्यक्ष अवलोकनले किसानहरूलाई व्यावसायिक कृषिमा अघि बढ्न ठूलो प्रेरणा दिएको छ।”

श्रेष्ठले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर भइरहने आशा व्यक्त गर्दै, यसले स्थानीय कृषकहरू र युवाहरूको भविष्यमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा दिक्ष्या फाउन्डेशनका अध्यक्ष सोस्रिन शर्माले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण अतिथि, सहभागिहरू, साझेदार संस्था, र स्वयंसेवकहरूलाई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याएकोमा आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन सामूहिक भोजनसँगै सम्पन्न भयो, जसले सहभागीहरूलाई भविष्यका योजनाहरूबारे छलफल गर्न र आपसी सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गर्‍यो।

ग्रामीण विकास, शिक्षा, र दिगो कृषिको यात्रामा नयाँ प्रेरणा

यस वार्षिक भेटघाट कार्यक्रममा दिक्ष्या फाउन्डेशन, WWGPN, तथा विभिन्न साझेदार संस्थाहरू को शिक्षा, वातावरणीय सचेतना, र कृषिको क्षेत्रमा पुर्याएको योगदानको चर्चा मात्र भएको थिएन, भविष्यमा अझ प्रभावकारी रूपमा ग्रामीण समुदायलाई सहयोग गर्ने मार्गचित्र पनि प्रस्तुत गरियो।

यो कार्यक्रम नेपालका ग्रामीण किसान, विद्यार्थी, तथा महिला सशक्तीकरण का लागि दीर्घकालीन परिवर्तन ल्याउने अभियानको एउटा महत्वपूर्ण कोशेढुंगा बन्न सफल रह्यो।



प्रतिक्रिया दिनुहोस्