काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो जलाउनेलाई पक्राउ गरिनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाएकै कारण आफूलाई पक्राउ गरिएको र पूर्वराजा ज्ञानेन्द्रको फोटो जलाउनेलाई भने केही नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘मैले तपाईँले विगतमा गरेको कमजोरी विर्सनु भएको हो भनेर उहाँलाई जानकारी गराउनका लागि फोटो जलाएको मलाई हत्कडी लगाइयो । म गृहमन्त्रीलाई भन्न चाहन्छु– राजाको फोटो जलाउने दलालहरुलाई कहिले मात्छ ? प्रचण्डको फोटो जलाउँदा मलाई हत्कडी लगाउने अनि राजाको फोटो जलाउनेलाई कहिले समाउने ?’ प्रश्न गर्दै उनले भने ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रमाथि लगाएको आरोप सहन नसकेर आफूले फोटो जलाएको पनि उनले सुनाए । उनले भने, ‘सिन्धुपाल्चोकको आफ्नो पार्टीको कार्यक्रममा दिनुभएको अभिव्यक्ति जहाँ देशलाई हिंसातिर धकेल्ने, देशको वातावरण खल्बलाउने र राजालाई आरोप–प्रत्यारोप गैरराजनीतिक तरिकाले अभिव्यक्ति प्रस्तुत गर्नुभएको थियो । राजालाई लगाएको दोष पूर्वाग्रही थियो । म राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता भएको कारणले देश निर्माणमा महत्वपूर्ण योगदान र भूमिका खेलेको त्यो संस्थाको विरुद्ध प्रचण्डले बोलिरहँदा सहन सकिनँ । प्रचण्डले २०५२ सालमा सशक्त आन्दोलन सुरु गर्नुभयो । त्यतिबेला १७ हजार मान्छेको रगत पनि बग्यो । मैले फोटो जलाएर मैले सन्देश प्रवाह गरेको हो ।’
प्रतिक्रिया