काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले नेपालमा राजसंस्थाको पुनर्स्थापना कुनै हालतमा पनि सम्भव नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो वितेको (मृत्यु भइसकेको) हजुरबुबा फर्किनु र नेपालमा राजसंस्था फर्किनु एउटै कुरा रहेको बताएका हुन् ।
‘मेरो हजुरबुबा वितेको धेरै वर्ष भयो । मेरो वितेको हजुरबुबा फर्किनु र नेपालमा राजसंस्था फर्किनु एउटै कुरा हो । विज्ञानविरोधी कुरा हो । यस्तो कुरा गर्न मिल्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, तत्कालीन राजा वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी ज्ञानेन्द्र र पारस रहेको उनले बताए । नेता दाहालले ज्ञानेन्द्र र पारसले वीरेन्द्रको वंशनास हुनेगरी दरबार हत्याकाण्ड कसले गरेको हो भन्ने कुरा भन्न सक्नुपर्ने उनले बताए ।
‘दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी ज्ञानेन्द्र र पारस हुन् । कि उनीहरु सहभागी भएको हुनुपर्यो, कि हत्यारा को हुन् उनीहरुलाई थाहा छ । भन्नु पर्दैन ? दरबार हत्या काण्डमा ज्ञानेन्द्रको सपरिवारलाई काँडाले पनि कोरेको छैन । विरेन्द्रको सपरिवार नष्ट भएको छ । दरबार हत्या काण्डको उचित छानविन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ,’– उनले भने ।
पूर्व युवराज पारसलाई उनले कुकुर सिरानीमा हालेर सुत्ने गजेडीको संज्ञा दिए । उनले भने, ‘कुकुर सिरानीमा हालेर सुत्नेलाई उहाँहरु (राप्रपा) ले राजा बनाउन खोज्दै हुनुहुन्छ । पारस शाह त कुकुर सिरानीमा हालेर सुत्छन् । त्यस्ता गजेडी राष्ट्र प्रमुख बनाउन हिँड्ने, त्यसका पछाडि लाग्ने मान्छे कस्ता हुन्छन् ?’
प्रतिक्रिया