एमालेको आन्तरिक राजनीतिले विद्या भण्डारीलाई अभिभारा सुम्पिन खोजेको छ, उहाँ नेतृत्व लिन तयार हुनुपर्छः कर्ण थापा

0
Shares

काठमाडौं, ७ चैत । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले पार्टीको आन्तरिक राजनीतिक परिस्थितिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिभारा सुम्पिन खोजेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीपछिको साझा व्यक्ति विद्या भण्डारी नै हरेको बताएका हुन् । एमालेमा भण्डारीमाथि आशा र भरोसा गर्ने ठूलो पंत्ति रहेको बताउँदै उनले अब नेतृत्व लिन तयार हुनुपर्ने बताए ।

‘उहाँ (विद्या भण्डारी) राजनीतिमा सक्रिय नै हुनुहुन्छ । परिस्थितिले, परिवेशले निर्धारण गर्छ । एमालेको आन्तरिक राजनीतिक परिस्थितिले उहाँ आउँदा राम्रो हुन्छ, उहाँले अभिभाराहरु पूरा गर्नुपर्छ । समयले उहाँलाई अभिभारा सुम्पन खोजेको छ भन्ने चाहीँ ठूलो मत छ । उहाँले पनि अहिले यत्रो ठूलो संकट छ, त्यो बेलामा अलिकति भरोसा भएको, आशा भएको र विश्वास गरिएका पात्रहरु किनारा लाग्न मिल्दैन । उहाँले नेतृत्व लिनुपर्छ । जनताको इच्छा आकांक्षा पूरा गर्न जो मान्छेप्रति भरोसा र आशा बढेको छ, उहाँले चाहीँ म केही पनि गर्दिनँ भन्नु भएन । तयार हुनुपर्छ भन्ने म देख्छु,’– नेता थापाले भने ।

भण्डारीले विगतमा पनि पार्टीको नेतृत्व लिएको बताउँदै उनले अहिले पनि आवश्यकता देखिएको बताए । यस विषयमा पार्टीले उपयुक्त निर्णय लिनुपर्ने उनको धारणा छ । एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको मेरा/तेरो, आफ्नो/अर्काको भन्ने केही पनि नरहेको र उनी साझा पात्रको रुपमा रहेको बताए । File Photo/RN