काठमाडौं, ७ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संसद्मा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यसअघिको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रश्नहरुको उत्तर नदिएको प्रसंग निकाल्दै प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका हुन् ।
उनले भने,‘आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ, सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन छ, यो कार्यसूचिबाट हटाईयोस भनेर माग गर्दछु । देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ ? त्यस्तै प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ ? मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन । प्रभु साहको सवाल होईन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो । यो सिंगो सदनको सवाल हो । सम्माननीय सभामुज्यूको पनि सम्मानको सवाल हो । संसदीय नियामावलीको हो । त्यसप्रति उत्तरदायी हुन सक्नुपर्दथ्यो, त्यसकारण आजको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाउन आग्रह गर्दछु । यदि कार्यसूचिबाट हटाईएन भने म यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’
साहले गौर हत्याकाण्डका दोषीहरुमाथि अहिलेसम्म कारबाही नभएको विषयमा पनि सरकारको ध्यानाकार्षण गराएका छन् । उनले सरकारले पटक पटक पीडित परिवारसँग सम्झौता गर्ने गरेको र तर ती सम्झौत कार्यान्वयन नगरेको भन्दै गुनासो पनि पोखे ।
पूर्वमन्त्री साहले गौर हत्याकाण्डका अपराधीहरु कहिलेसम्म कानूनको दायरामा आउँछन् भन्दै सरकारलाई प्रश्न गरे । उनले भनेका छन्–”आज गौर हत्याकाण्डको १८ वर्ष पुगेको छ, गौर हत्याकाण्डका महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । १८ वर्षदेखि न्यायको प्रतिक्षामा रहेका र संघर्षरत पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दछु । सरकारसँग सोध्न चाहन्छु–दिउँसै भएको विभत्स गौर हत्यकाण्डको छानबिन कहाँ पुग्यो ? ती अपराधीहरु कहिले कानूनको दायरामा आउँछन भनेर सोध्न चाहन्छु । सरकारले पटक पटक सम्झौता गर्ने अनि कार्यान्वयन नगर्ने गर्दै आएको छ । यो मुद्दाको जाहेरी दर्ता छ, तर छानबिन केही पनि भएको छैन । यसबारेमा सम्माननीय सभामुखमार्फत सरकारको जवाफ चाहन्छौं ।”
प्रतिक्रिया