काठमाडौं, ७ चैत । आम जनता पार्टी (आजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सहित अन्तरिम सरकार गठनको माग गरेको छ । आजपाले ओली नेतृत्वको सरकार र वर्तमान संविधान पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन अन्तरिम सरकार गठनको माग गरेको हो ।
आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री सहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भईसकेकाले नैतिकताको आधारमा प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफै जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकोले गर्दा हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहर सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारसँग माग गरेको छ’, बैठक पश्चात आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै आजपाले अन्तरिम सरकार गठनको माग गरेको हो । यसैगरी बैठकले दलाल दलतन्त्र र अहिलेको व्यवस्था खारेजका लागि आजपाद्धारा पूर्वघोषित तेस्रो जनआन्दोलन सफल बनाउन कमाण्डर तोकेको छ । आजपा अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले दलाल दलतन्त्र र अहिलेको व्यवस्था खारेजका लागि पूर्वघोषित तेस्रो जनआन्दोलन सफल बनाउन कमाण्डर तोकेका हुन् ।
प्रवक्ता साहले दलाल एवं लुटकारी दलतन्त्रको अन्त्य र अहिलको व्यवस्थाको खारेजीका लागि संविधान सभाका सदस्य तिलक थापा मगरको नेतृत्वमा तेस्रो जनआन्दोलन परिचालन समिति गठन भएको जनाएका छन् । तेस्रो जनआन्दोलनको कमाण्डर तोकिएका थापा आजपाका वरिष्ठ उपाध्यक्ष समेत हुन् । सो समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, उपमहासचिव धनकुमारी मगर, सचिवद्धय उमेश कुशवाहा, देवी पण्डित र वागमती प्रदेश कमिटीका अध्यक्ष रमेश थपलिया सदस्य रहेका छन् । यो समितिमा अन्य समितिका संयोजकहरु तथा महत्वपुर्ण जबसका नेतृत्व पदेन सदस्य रहने निर्णय बैठकले गरेको छ ।
यसैगरी बैठकले महासचिव त्रिभुवन साहको कमाण्डमा व्यवस्थापन समिति, उपमहासचिव चन्द्रभुषण साहको कमाण्डमा प्रचारप्रसार समिति, स्थायी कमिटी सदस्यद्धय रञ्जु साहको कमाण्डमा आर्थिक समिति र आर्या पाण्डेको कमाण्डमा स्वयमसेवक समिति समेत गठन गर्ने निर्णय गरेको छ । ‘दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन सफल पारौं!, जनताको शासन सहित समृद्धिको पथमा अघि बढौं!!’ भन्ने मुल नारा सहित पार्टी अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई शसक्त र कडा बनाउने निष्कर्ष समेत निकालेको छ ।
‘बैठकले दलाल दलतन्त्रको भण्डाफोर गर्ने, नेताहरुको अत्याचारको प्रतिवाद गर्ने, धोखेवाज जनप्रतिनिधिहरुसंग भोट फिर्ता माग्ने, भ्रष्टाचारी र अपराधीहरुलाई जनकारवाही गर्ने, अनावश्यक कर बहिष्कार गर्ने, जनअधिकारको रक्षा एवं आम जनजीविकाकोे लागि निरन्तर संघर्ष गर्ने, असफल व्यवस्थाको खारेजीका लागि घोषित तेस्रो जनआन्दोलनलाई निर्णायक एवं सफल बनाउने संकल्प गरेको छ’, आजपा प्रवक्ता साहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
देशको वर्तमाान राजनीतिक अवस्था अन्यौग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोश मार्फतको तिब्र धुर्वीकरण सहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको निकर्ष बैठकको छ ।
‘वर्तमान संवैधानिक व्यवस्थाले पार्टीका नेता तथा तिनका आसेपासे मोटाएको, दलाल एवं भगौडा वर्ग लाभाव्न्वित भएको, जनता बेहाल एवं देश उजाड भैरहेको, आम नागरिकले लोकतन्त्रको व्यवहारिक प्रत्याभूति गर्न नपाएको तथा न्याय, समानता, सुशासन र विकासको बाधक समेत रहेकाले लुट एवं विभेदकारी चरित्रको यो असफल व्यवस्थाको विकल्पमा अब आम जनताको शासन व्यवस्थाको पथमा अगाडी बढनुपर्ने निष्कर्ष निकालेको छ’, आजपाले भनेको छ ।
यस्तै बैठकले सरकारको सेवा प्रवाह, सुशासन एवं विकासका कामहरु गतिहीन भएकाले हरेक हिसाबले कमजोर एवं असफल प्रमाणित भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको निष्कर्ष सहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताको आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न माग गरेको छ ।
बैठकले पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटीहरुको गठन, पुनर्गठन, बैठक एवं भेलाहरुलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया