काठमाडौं, ७ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाउँदै तत्काल सरकारले दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले दोषीहरुलाई कारबाही नगरे यो सरकार दलितविरोधी रहेछ भन्ने पुष्टि हुने टिप्पणी गरे ।
आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले यस्तो माग गरेका हुन् । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को डोजर घर भत्काइएको र पीडित परिवारलाई पनि विस्थापित गरिएको भन्दै सिंहले आपत्ति जनाए । अहिले दलित र महिलामाथि अत्याचारको श्रृंखला बढेको भन्दै सरकारको ध्यानाकार्षण गराए ।
उनले महायज्ञका बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव तीनै जनालाई कारबाही गर्न माग गरे । उनले यी तिनै जनालाई अविलम्ब पक्राउ गरिनुपर्ने माग गरे ।
प्रतिक्रिया