रामधुनी (सुनसरी), ७ चैत । दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा रामधुनी नगरपालिका–१ मा प्रतिष्ठान निर्माण हुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्लेले आज यहाँ ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ को शाखा निर्माणका लागि भवन शिलान्यास गरिन् ।
यहाँ प्रतिष्ठान निर्माण गर्न सहरी विकास मन्त्रालयले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट बोलपत्र प्रक्रियामार्फत सीता रामधुनी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का लिएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन प्रतिष्ठानको केन्द्रीय अध्यक्ष हुन् । उक्त केन्द्रीय प्रतिष्ठानको शाखाका रूपमा रामधुनीमा भवन निर्माण थालिएको हो । मुलुकका सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्यसहित कोशीको शाखाका रूपमा सुनसरी जिल्ला छनोट गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमारी चौधरीले बताइन् ।
उनले भनिन्, “यसको केन्द्रीय कार्यालय काठमाडाँैस्थित बूढानीलकण्ठमा छ । त्यसबाहेक धनुषा, नुवाकोट, दाङ, तनहुँ, सुर्खेत र कैलालीमा पनि शाखा छन् । कोशी प्रदेशको शाखाका रूपमा सुनसरीमा भवन निर्माण हुन्दैछ ।” प्रदेश शाखाको अध्यक्ष तत्कालीन संविधानसभाका सदस्य एवं पार्टी प्रदेश कमिटी सदस्य सन्तोष थारू छन्।
तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष रहेका दिवङ्गत नेता बोगटी नुवाकोटका स्थायी बासिन्दा थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै माओवादीभित्र र बाहिरसमेत उनको लोकप्रियता थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित उनी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको थियो ।
विसं २०७१ भदौ ३० गते ६१ वर्षको उमेरमा बोगटीको हृदयघातका कारण निधन भएको थियो । प्रतिष्ठानले सामाजिक, परोपकारी, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदलगायत समाजसेवाका विविध क्षेत्रमा काम गर्दै आएको केन्द्रीय सदस्य चौधरीले बताए । भवन निर्माणपछि सुनसरीमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना रहेको उनले उल्लेख गरे । रासस
प्रतिक्रिया