क्रसरवाला, जग्गा दलाल र तस्करसँग गगनको नेटवर्क छ, उनी प्रधानमन्त्री बने भने नेपाल नै रहँदैनः अमरेश कुमार सिंह (भिडिओसहित)

7.9k
Shares

काठमाडौं, ८ चैत । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको क्रसरवाला, जग्गा दलाल र तस्करसँग नेटवर्क रहेको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता सिंहले गगन ‘हिप्नेटिज्म र डबलस्ट्याण्डर्ड’ रमाउने नेता रहेको बताएका हुन् । उनले कांग्रेस बचाउन डा.शेखर कोइरालाको नेतृत्व आवश्यक रहेको बताए । नेपाली कांग्रेसका पूर्वनेता समेत रहेका सिंहले शेखरबाहेक त्यो पार्टी कोही बसैले बचाउन नसक्ने दाबी गरे ।

कांग्रेस महामन्त्री थापाप्रति आक्रोश व्यक्त गर्दै उनले भने, ‘गगन थापा प्रधानमन्त्री बन्दा नेपाल नै रहँदैन । दक्षिण भारतको फिल्मी शैलीमा ऊ के गर्छ ? जुन जिल्ला जान्छ, पहिला नै १० लाख रुपैयाँ पठाउँछ । त्यो १० लाखको स्रोत को हो ? १० जना संगै टिकट कटाउँछ, जुन दिन जान्छ । बुद्ध एयरको स्टाफसँग सोध्नुस्, गगनजीको टिममा कतिजना ? हामी एक जना सांसद महिनामा एकचोटी क्षेत्र जाँदाखेरी ड्राइभर, पीएओलाई पनि गाडीबाट पठाउँछौं । हाम्रो दाँतबाट पसिना निस्किन्छ, पैसाको व्यवस्था कसरी गर्ने ? उहाँलाई हरेक ठाउँ पहिला ४÷५ जनाको टिम पठाउने । र दक्षिण सिनेमाको शैलीमा २ सय वटा गाडी लिएर आउनु पर्यो भनेर उर्दी जारी गर्ने । त्यो कसले गर्छ, गिटी क्रसरवालाले गर्छ, जग्गा दलालले गर्छ, तस्करले गर्छ । त्यो नेटवर्कमा बसेर देश बन्छ ? यो कसैले पत्याउने कुरा हो ? यो त हिप्नेटिज्म हो । यतिको डबलस्ट्याण्डर्ड नेता त आजसम्म देखेकै छैन ।’

भ्रष्टाचारी ठहर भएका कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई गगन थापाले काँध थापेर राखेको पनि उनले आरोप लगाए । ‘सर्वोच्च अदालतबाट आर्थिक रुपले पनि दण्डित छन्, जरिवाना पनि छ, कैद पनि छ । त्यसको बावजुद पनि गगन थापा भन्छन्, हामीलाई त्यही चाहिन्छ । किनकी चामल, दाल सबै त्यहीबाट जान्छ, उसकैको घरमा खान जान्छ । उसैको पैसामा चुनाव लडेर त्यहाँ जित्ने ।’