काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर परियारले संविधान र कानुनले जातीय विभेद अन्त्य गरेपनि व्यवहारिक रुपमा भने कायमै रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलित समुदायको भएकै कारण पानी नचल्ने, काठमाडौंमा डेरा नपाइने, अन्तरजातीय विवाह गरेकै कारण ज्यान गुमाउनुपर्ने जस्ता समस्या कायमै रहेको बताएका हुन् ।
‘नेपालमा लिखित कानुन र संविधान त बन्यो । तर, अलिखित खालको मूल्य र मान्यता छ, यो लेखिएको छैन । तर, पनि जब्बर छ । अलिखित खालको मूल्य मान्यताको कारणले गर्दा नेपालमा अहिले पनि जातीय विभेद र छुवाछुत छ । अन्तर्जातीय बिबाहको नाममा धेरै मानिसहरुको ज्यान गएको छ । विविध खालको घटना घटेको छ । अहिले पनि डेरा नपाउने समस्या काठमाडौंमा यथावत छ । पानी चल्दैन । त्यस्तो ठाउँ छैन कि जहाँ जातीय विभेद नभएको होस्,’– उनले भने ।
कानुनी र संवैधानिक रुपमा जातीय विभेद अन्त्य भएपनि व्यबहारिक रुपमा समस्या कायमै रहेको भन्दै उनले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । ‘अहिलेसम्म पनि त्यो समस्या समाधान भएको छैन । त्यसतर्फ राज्यको ध्यान जानुपर्यो,’– उनले भने ।
प्रतिक्रिया