Logo

केपी ओलीलगत्तै शेखर कोइराला प्रधानमन्त्री बन्ने अमरेशको दाबी, देउवा र आरजुको सम्भावना नभएको ठोकुवा (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केपी शर्मा ओलीलगत्तै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको दाबी गरेका छन् । कांग्रेस र एमालेको सहमतिबमोजिम अहिले एमालेका अध्यक्ष ओली सरकारको नेतृत्वमा छन् ।

ओलीलगत्तै कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी छ । तर, राजनीतिक भविष्यवाणी गर्दै आएका स्वतन्त्र सांसद सिंहले भने अब ओलीपछि देउवा र उनकी पत्नी डा. आरजु राणा दुवै जनाको प्रधानमन्त्री बन्ने सम्भावना आफूले नदेखेको ठोकुवा गरे ।

उनले अहिलेको संसदीय व्यवस्थाबाटै हुने हो भने कांग्रेस नेता डा. शेखर कोइराला अबको प्रधानमन्त्री बन्ने दाबी गरे । उनले भने,‘केपी ओलीपछि शेरबहादुर देउवा र आरजु दुवैजना प्रधानमन्त्री हुँदैनन अब, यदि संसदीय व्यवस्थाबाट भयो भने शेखर कोइराला बन्नुहुन्छ । तर, संसदीय व्यवस्था रहन्छ कि रहँदैन भन्नेमा म विश्वस्त हुन सकेको छैन । म गणतन्त्रवादी हुँ ।’

उनले आफू कहिल्यैपनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्न नगएको र गएको प्रमाणित गरे राजनीतिबाट सन्यास लिने घोषणा गरे । उनले आफू जनतातन्त्रमा विश्वास गर्ने व्यक्ति भएको सुनाए । नेतातन्त्रको विपक्षमा आफू उभिएकोले वंशको राजनीतिमा विश्वास नगर्ने पनि उनले सुनाए । उनले आफू संविधानको हस्ताक्षरकर्ता भएकोले यसकै पक्षमा रहेको र लोकतन्त्रको पक्षमा दृढ भएर उभिने विश्वास दिलाए । उनले आफूले नेतामाथि प्रहार गरेको तर कहिल्यैमाथि पनि व्यवस्थामाथि प्रहार नगरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्