
खार्तूम, ८ चैत । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ ।
सेनाका प्रवक्ता नाबिल अब्दुल्लाहले सरकारी टेलिभिजनमा प्रसारित एक विज्ञप्तिमा भनेका छन्, “हाम्रो सेनाले शत्रुका लडाकु र उपकरणहरू पूर्ण रूपमा नष्ट गरेको छ र ठूलो मात्रामा उपकरण र हतियारहरू जफत गरेको छ।”
अब्दुल्लाहले भने, “जबसम्म विजय पूरा हुँदैन र हाम्रो देशको हरेक इन्च लडाकू र यसका समर्थकहरूबाट स्वतन्त्र हुँदैन तबसम्म सेना सबै मोर्चामा अगाडि बढ्नेछ।”
सैनिकहरूले सामाजिक सञ्जालमा राष्ट्रपति भवनभित्र रहेको भिडियो सेयर गर्दै बधाई आदानप्रदान गरेका छन् । एएफपीले तत्काल उक्त फुटेजको पुष्टि गर्न सकेको छैन ।
सन् २०२३ अप्रिलमा आरएसएफ र सेनाबीच युद्ध सुरु भएपछि अर्धसैनिक बलले दरबार कब्जा गरेको थियो। आरएसएफले खार्तूमको सडकहरू द्रुत गतिमा कब्जा गरेपछिसेना र सरकारी प्रशासन रेड सीबाट पोर्ट सुडानतर्फ भाग्न बाध्य भएको थियो।
राष्ट्रपति भवन, मन्त्रालयहरू र राजधानीको व्यापारिक क्षेत्र रहेको सेन्ट्रल खार्तूम हालैका महिनाहरूमा भीषण युद्धस्थल बनेको छ । पछिल्लो समय सेनाले शहरमा आफ्नो सङ्ख्या बढाएको छ ।
यसै साताको सुरुमा सेनाले उत्तर र दक्षिणबाट आफ्ना सेनाहरू गाभिएको र आरएसएफमा समाहित भएको बताएको थियो।
झन्डै दुई वर्षको अवधिमा दशौँ हजार मानिसको ज्यान लिइसकेको खातूममा एक करोड २० लाखभन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ । युद्धका कारण सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कट व्यहोरेको छ । रासस