काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर जबराले अबको राजसंस्था पुनर्स्थापनको आन्दोलन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठन भएको समितिले अगाडि बढाउने बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा शाही युवा शक्ति नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा, दुर्गा प्रसाईँलगायत विभिन्न संघ÷संस्थाहरु एउटै छातामा रहेर अगाडि बढ्ने बताएका हुन् । गणतन्त्र फाल्ने संघर्षमा एक हुन उनले आग्रह गरे ।
‘हामी सबैको आन्दोलन हो यो । एउटा छाता बनेको छ, नवराज सुवेदीजीको अध्यक्षतामा एउटा छाता बनेको छ । त्यही छाताअन्तर्गत यो सबै भइरहेको छ । छाताअन्तर्गत हामी सबै पार्टीहरु, दुर्गा प्रसाईँजी पनि हामी सबै अभियन्ता मिलेर अगाडि बढ्ने हो । कसैले आफैं गर्छ भने गर्न दिने हो । यो फुटेको फाटेको केही पनि होइन,’– उनले भने ।
गणतन्त्रविरोधी अवको आन्दोलन जनताको आन्दोलन बन्ने उनले विश्वास व्यक्त गरे । नेपालमा अब राजासहितको प्रजातन्त्र र हिन्दु अधिराज्य कायम गराएरै छाड्ने उनले बताए । उनले अबको आन्दोलनलाई राष्ट्रलाई बचाउने आन्दोलनको रुपमा चित्रण गरे ।
‘जनताको मुक्ति र राष्ट्रलाई समृद्ध राष्ट्र, प्रगतिशील र उन्नति प्रगतिको बाटोमा लाने आन्दोलन हो । तीन÷चार जना नेताले यो देशलाई गुमराहमा राखेर पालो–पालो यो देशलाई लुटिरहेका छन् । अब पनि जनता जागेनन् भने यो नेपाल नै हामीले चिनेको अवस्थामा रहला कि नरहला भन्ने अवस्थामा पुगिसक्यो । अर्थतन्त्र ध्वस्त भइसक्यो, रोजगारी छैन, कृषि खत्तम भइसक्यो । शिक्षाको लागि बाहिर जानुको उपाय छैन । अब आन्दोलन गरेर यो कहालीलाग्दो अवस्था परिवर्तन गर्नुको उपाय छैन । यो व्यवस्था परिवर्तन गरी अवस्था परिवर्तन गर्न आवश्यक परेको कारण हामी सबै राजावादी, राष्ट्रवादी र गणतन्त्रविरोधी शक्ति एक ठाउँमा उभिनुपर्छ,’– उनले भने ।
साथै, राप्रपाको आन्दोलत परिचालन समितिको अध्यक्ष विगत डेढ वर्षदेखि आफू रहेको र तमाम आन्दोलनहरु आफ्नो नेतृत्वमा भइसकेको उनले बताए ।
प्रतिक्रिया